रामेछाप, २ चैत्र । भर्खरै १२ वर्षको उमेरमा कक्षा ७ मा पढ्दै हुनुहन्थ्यो शोभा । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौवन चढिसकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे ।
त्यही निसानामा पर्नुभयो काभ्रे दोलालघाट बस्ने शोभा पराजुली । र, १२ वर्षकै उमेरमा कापीकलम बोक्ने हातमा एलएमजी हतियार । कापीकलमबाहेक केही देख्नुभ नभएको शोभाको हातमा भारी हतियार थमाइयो । माओवादीले देखाएको सपना उहाँलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उहाँले आफ्नो यौवनलाई नै धरापमा राखेर युद्धमा होमिनुभयो । ‘त्यो बेला त माओवादी के हो ? जनयुद्ध के हो ? भन्ने केही पनि थाहा थिइन् । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले भन्नुभयो । २०६० सालमा उहाँ पहिलोपटक माओवादीमा लाग्नुभएको थियो । युद्ध लड्नका लागि कसरी हतियार चलाउने ? दुश्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा उनलाई १९ दिन मात्र तालिम दिइयो । त्यसपछि उनी जनमुक्ति सेनाको पूर्णकालीन लडाकू हुनुभयो । घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उहाँ गरिबी, असमानता, बेरोजगारी अन्त्य गर्ने भन्दै अग्रपंक्तिमा उभिएर लड्ने अठोट लिनुभयो । । उहाँ लाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो । ‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । युद्धमा होमिएपछि त अरूलाई सिध्याउनुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भन्नुभयो । माओवादी नेतृत्वले तालिम दिँदा उहाँलाई लाग्थ्यो, म एक्लैले संसार जित्छु । हुन पनि किन नहोस् युद्ध लड्ने हतियारले मात्र सम्भव हुँदैन । त्यसका लागि सबैभन्दा ठूलो कुरा हिम्मत र साहस चाहिन्छ । जुन उनीहरूलाई कमान्डरबाट पाउने निर्देशन काफी हुन्थ्यो । देशका लागि केही गर्नुपर्छ भनेर भनिन्थ्यो ।
उहाँले पाँचवटा लडाइँ लड्नुभयो । पहिलो लडाइँ उहाँले मकवानपुरको जुरजुरेमा लड्ने मौका पाउनुभयो । लड्नुअघि उहाँलाई खुबै डर थियो । जब गनबाट फायर खोलिन्, त्यसपछि एकाएक साहस जाग्यो । र, लडाइँ नसकिँदासम्म अग्रपंक्तिमा नै रहनुभयो । ‘लड्ने बेला त आफू मर्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त या मरिन्छ या त अरूलाई मारिन्छ भनेर नै लडाइँमा जाने हो,’ शोभाले भन्नुभयो । लड्ने क्रममा उनी कैयौपटक मृत्युको मुखबाट जोगिनुभयो । तत्कालीन शाही सेनाको कब्जाबाट कैयौपटक भाग्न सफल हुनुभयो । आफूसँगै साथीहरू गोली लागेर ढलेको देख्दा त आफ्नो पनि जीवन सकियो जस्तै लाग्थ्यो । २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उहाँले बल्ल मुक्तिको श्वास फेर्न पाउनुभयो । र, अब क्रान्ति पूरा भएको भान भयो । तर, अहिले आएर उहाँलाई युद्ध किन लडेको भनेर पछुतो हुन्छ । युद्ध लडेर उहाँ रित्तो हात घर फर्किन बाध्य हुनुभयो । ‘आफूसँगै लडेका साथीहरू कोही समायोजनमा गए । कोही राहत प्याकेज लिएर घर फर्किए । तर मलाई भने बाल लडाकू भनेर त्यो पनि अयोग्यको बिल्ला भिराएर घर पठाइयो,’ शोभाले भन्नुभयो । युद्ध लड्दा उहाँलाई त्यति पीडा भएन, जति पीडा अयोग्य भनेर रित्तो हात घर फर्काइयो ।
उहाँलाई त्यसपछि घरपरिवारमा घुलमिल हुन निकै समय लाग्यो । घर फर्किने बेला माओवादी नेतृत्वले राम्रै आश्वासन दियो । एक गेटबाट घर पठाएर अर्को गेटबाट भित्र छिराउने भन्दै उनीहरूलाई तत्काल घर जान भनियो । अहिलेसम्म पनि उहाँहरूलाई अयोग्य नै भनिन्छ । दिनप्रतिदिन देशको अवस्था बिग्रिँदै गर्दा उहाँलाई पीडाले छाती चिरिन्छ । जुन उद्देश्यका लागि युद्ध लडेका थिए, आज त्यो सपना साकार हुन सकिरहेको छैन । विगतको जस्तै ठूलाठालु र पावरवालाकै अहिले अहिले पनि हालीमुहाली छ । आफ्नै नेतृत्वले बेवास्ता गर्दा र नचिन्दा युद्धमा होमिनु गलत थियो कि भन्दै यतिबेला उहाँआफैंले आफैंलाई प्रश्न गर्नुहुन्छ । ‘त्यो बेला माओवादीमा नगएर, प्रहरीमा गएको भए आज पेन्सन पाकिसकेको हुन्थ्यो । पढाइ नछाडेको भए अहिले के के हुन्थ्यो । के(के न युद्ध भनेर लडियो, अहिले टाठाबाटा र पावर हुनेवालाको रजाइँ छ,’ शोभाले पीडा पोख्नुभयो। देश परिवर्तन र व्यवस्था परिवर्तनका लागि भन्दै लडे पनि त्यो पूरा नहुँदा पीडाबोध हुनु स्वाभाविक हो । एकातिर पढाइ छैन । अर्कोतिर हातमा कुनै सीप भए त्यसबाटै जीविकोपार्जन गर्न सकिन्थ्यो । शोभाको हातमा पढाइको सर्टिफिकेट हुन्थ्यो भने विदेशै गएर पनि गुजारा चलाउन सक्नुहुन्थ्यो । ‘पढ्ने उमेरमा अवस्था र व्यवस्था परिवर्तन गर्ने भन्दै बन्दुक भिरेर लड्न हिँडियो,’ शोभा भन्नुहुन्छ , ‘अहिले आएर आफ्नो भाग्यले नै छल गरे जस्तो लाग्छ ।’ अहिले उनी काँडाघारी मूलपानीमा किराना पसल चलाएर बस्नुभएको छ। जसले दैनिक गर्जो टार्न पनि धौ धौ हुन्छ ।
उहाँले सरकारी जागिर खान खुबै प्रयास गर्नुभयो तर तर, पढाइले गर्दा जागिर खान पाउनुभएन । विदेश जाने सोच पनि बताउनुभयो त्यो पनि हुन सकेन । त्यो बेला बुर्जुवा शिक्षा भनेर पढ्न पाइनन् । ‘मेरो त पढाइ नै छैन । योग्यताअनुसारको काम गर्न खोज्दा केही पनि पाइँदैन । विदेश जाउँ भन्दा पनि पाएको छैन । सरकारी जागिर पाउने भन्ने पनि सम्भव छैन । पावरै चलाएर जागिर खान खोज्यो भने पनि सम्भव छैन,’ उहाँले भन्नुभयो । आफ्नो योग्यताअनुसार केही न केही व्यवस्था मिलाइदिन राज्यसँग पटक–पटक गुहार माग्नुभयो । तत्कालीन जनयुद्धका कमान्डर तथा नेतृत्वसँग पटक(पटक छलफल गर्नुभयो । तर, जतिबेला पनि आश्वासनबाहेक केही पाउनुभएन । ‘खाली आश्वासन मात्र दिने । काम केही नगर्ने भएपछि भेट्न किन जानु पर्यो ?’ शोभाले प्रश्न गरिन्, ‘हामी ज्यानको बाजी थापेर युद्धमा होमियौं । तर, उहाँहरूले मलगायत चार हजार आठजनालाई रोडमा ल्याएर छोड्नुभयो । अहिले आएर अयोग्य बाल लडाकू भनेर विशेषण दिइयो । १२ वर्षको उमेरमा बन्दुक समाउन कसलाई रहर हुन्छ र ?’
उहाँहरूलाई त अहिले माओवादी पार्टी र माओवादी नेताहरूप्रति वितृष्णा जागेको छ । युद्धबाट बाहिरिएको पनि दशौं वर्ष भइसक्यो । तर, त्यसका पीडा र घाउँ अझै पनि कम भएको छैन । यतिबेला उनीमाथि घरपरिवारसँगै समाजको पनि प्रश्नको थुप्रो छ । अहिले के पायौं ? के–के न हुन्छ भनेर गएकी थियौं, के भयो ? आफ्नै जिन्दगी बर्बाद गरेर आखिर के पायौं ? घरपरिवारबाट बारम्बार आउने प्रश्न हो यो । समाजले त झन् खुच्चिङ नै भन्छ ।
के(के न परिवर्तन गर्छु भनेर युद्धमा गएकी थियौं अहिले के पायौ ? समाजले उहाँलाई बारम्बार गर्ने प्रश्न हो यो । जसको उत्तर उहाँले भेट्नुभएको छैन । त्यसैले त उहाँ भन्नुहुन्छ , ‘जनयुद्ध त नेताहरूका लागि लडेका रहेछौं । हामीले त पीडामाथि पीडा मात्रै पायो ।’ उहाँ त कमसेकम नेपालमै हुनुहुन्छ । तर, उहाँका तत्कालीन कैयौं सहयोद्धा कमरेडहरू विदेशी भूमिमा पसिना बगाउन विवश छन् । कतिपय साथीहरू त जीवन र मरणको दोसाँधमा छन् ।













प्रतिक्रिया दिनुहोस्