राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले सम्बद्ध विभिन्न विधा,सिर्जना र क्षेत्रका स्रष्टाहरुलाई नेतृत्व गर्ने जनवर्गीय सगठन हो । त्यसैले यसका अध्यक्ष र सहित पदाधिकारी र सदस्यहरु सामान्यतया आफ्ना मातहत सबै विधालाई माक्र्सवादी र जबज अनुसार सौन्दर्य शास्त्रीय विचार चिन्तन र सिद्धान्तका दृष्टिले मार्ग निर्देश वा सहजीकरण गर्न सक्ने क्षमताको बन्न र बनाउन सकिन्छ । अलि अलि पढेर कलम चलाउन थालियो भने कुनै पनि प्रतिभालाई उकास्न र उठाउन नसकिने होइन । विविध विधा र क्षेत्रको उच्च स्तरको कलाकारिता केन्द्रीय स्तरको कलाकार र स्रष्टामा हुनैपर्छ तर त्यसभन्दा पनि ती क्षेत्रलाई समग्रतामा सोद्देश्य दृष्टिकोण सहित परिचालित गर्ने सौन्दर्य शास्त्रीय विचार, चिन्तन र सिद्धान्तको समग्र ज्ञान अगुवा कलाकार र स्रष्टामा अपरिहार्य हुन्छ । नत्र पिँध बिनाको लोहोटा हुने खतरा हुन्छ । प्रगतिशील आवरणमा जन सांस्कृतिक महासंघ नाममार्फत् चरम अवसरवादी तथा भड्काउ गतिविधि प्रति होसियार हुनुपर्छ । चारतारे झण्डा बोकेर प्रगतिशील कला, साहित्य र संस्कृतिको संरक्षण गर्ने चिन्तन र चरित्रदेखि होसियार पनि हुनुपर्छ । यस्ता विषयमा आम कलाकारहरुको विशेष ध्यान जान जरुरी देखिन्छ ।
प्रा.डा.बद्रीविशाल पोखरेल
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, एमाले सम्बद्ध र निकट आत्मिक संस्कृतिका विशिष्ट महत्वको संस्था हो । माओले नै पढ्नु भनेको देशको सेवा हो भन्नु भएझैँ सिर्जना र रचनाको क्षेत्र त अझ देश र जनताका हितमा सोद्देश्यका साथ समर्पित क्षेत्र हो । एमाले केन्द्रीय सदस्य तथा महासंघ अध्यक्ष खगेन्द्र राई नेतृत्वको यो संस्था यही चैत्र १८, १९ र २० गते काठमाडौँमा राष्ट्रिय सम्मेलनका तयारीको तयारीमा रहेको छ । महासंघ विगतको समीक्षाका गर्दै गुणात्मक रुपान्तरणमा के कति सक्रिय हुन्छ र यस्ता सबालमा मातृ पार्टीको र संस्कृति र साहित्य कर्मीहरुको के कति ध्यान जान्छ भन्ने कुरा यस लेखको सार पक्ष हो । अब पनि पहिलेझैँ मात्रात्मक परिवर्तनमा मात्र चित्त बुझाएर बस्छन् कि गुणात्मक यात्राको रुपरेखा कोर्छन् भन्ने सबाल यस आलेखमा उठाउन खोजिएको छ ।
अझ सबैको अभिभावकीय भूमिकाका रुपमा रहेको पार्टी नेतृत्व तिनलाई मार्ग निर्देश गर्ने कुरामा के कति ल्याकत राख्छ र राखेको छ भन्ने विषयलाई पनि संकेत गर्न खोजिएको छ । उपर्युक्त क्षेत्रमा कामहरु भएका छन् तर अपेक्षित काम गर्न अरु ध्यान दिनु पर्ने हो कि हो कि भन्ने देखिन्छ । कामकाजी नेतृत्व निर्माण हुँदा गुणात्मक काम गर्न सकिन्छ । यसका लागि त्यस अनुसारको नेतृत्व निर्माणमा ध्यान दिनुपर्छ । सिरदेखि तीरसम्म पार्टी कार्यकर्ताको पहिचान लिएर सम्बद्ध क्षेत्रलाई प्रभावित पार्न सकिन्न । आवश्यकता अनुसार सोझो रुपमा माक्र्सवादी, जबज र प्रगतिशील भनेर वा नभनेर कलात्मक हस्तक्षेप गर्ने सोचका साथ विषय र विधागत माक्र्सवादी विचार प्रवाह गर्ने कुरा अहं महत्वको हुन्छ ।
कला साहित्यिक कार्यक्रमलाई सोझो पार्टीकरण गरेपछि सम्बद्ध विषय,विधा र क्षेत्रको सौन्दर्य र प्रभाव पनि कमेजोर हुन्छ । समानान्तर लेखकरु आफ्ना संस्था र मोर्चाको नाम वाणी प्रकाशन जुराउँछन् । उनीहरु परबाटै हेर्दा सबैका साझाजस्ता देखिन्छन् तर सारमा आफ्नो वर्ग पक्षधरतालाई कट्टरता पूर्वक पक्षपोषण गर्छन् । तर माक्र्सवादी पक्षधरहरु भने कहिले अति कट्टर र कहिले वर्गविचलित देखिन्छन् । प्रगतिशीलहरु प्रायः पार्टीकरण गर्छन् भने कहिले चरम वर्गविचलित देखिन्छन् ।
आफ्ना कार्यक्रममा समानान्तर लेखकलाई आमन्त्रण गरेर प्रतिक्रियावादी,यथास्थितिवादी,प्रतिगामी र अधोगामी आदि भनेर कटाक्ष गर्छन् । समानान्तर लेखक र संस्थाप्रति प्रयोग गरिने प्रगतिशील सौन्दर्यशास्त्रीय शालीन शब्दावली हुँदाहुँदै पनि तिनको प्रगोग गर्ने कुरामा खास ध्यान दिँदैनन् । आफू नै पनि एकोहोरो पट्यार लाग्ने प्रगतिशील वा प्रगतिवादी शब्दाबली मात्र उल्लेख गर्छन ् जव कि यसका पर्यायवाची शब्दहरु यथार्थको सक्रिय प्रतिबिम्बन,सक्रिय यथार्थ, जीवन्त यथार्थ, जीवनवादी साहित्य, अग्रगामी लेखन,सोद्देश्य लेखन आदि प्रयोग गर्ने कुरामा खासै ध्यान र मन पुगेको पाइन्न ।
प्रायः मोर्चा वा पार्टीका कार्यक्रममा धेरै अतिथि बक्ता हुन्छन् तर सालाखाला एउटै विषय मात्र सतही बखान गरेको देखिन्छ । सभाको सहभागिता,तिनको चेतना, चिन्तन, सिर्जन स्तर हेरेर र बुझेर तदनुकूल तिनलाई झझक्याउने र नयाँ क्षितिज उघार्ने खालका विचार व्यक्त गरेको प्रायः देखिन्न । पार्टी अध्यक्ष ओली र अरु एकाध नेता बाहेक यस विषयमा त्यति सचेत र पूर्वतयारीबिना नै बोल्नका लागि बोलेको जस्तो देखिन्छ । कतिपय नेता र स्रष्टाको मन्तव्य, गन्तव्य र निकटताले अगुवा नेता र कार्यकर्ता तथा जनतामा नयाँ उर्जा र प्रेरणा प्राप्त गर्नु पर्ने हो । माक्र्स, लेनिन, माओ, पुष्पलाल, बीपी कोइराला र मदन भण्डारीका विचार, व्यवहार र जीवन शैलीबाट जो कोही प्रभावित हुन्थ्यो । मदन भण्डारीसित जो कोहीलाई प्रभावित अद्भूत क्षमता थियो । ओलीको बहुआयामिक विशष्ट क्षमताका बारेमा एमालेमा समाहित प्रसिद्ध कलाकार करिष्मा मानन्धरले सविस्तार बताउनु नै भयो । सिरदेखि तिरसम्म ठण्डा वा रापताप विहीनबाट खास प्रभाव पर्दैन ।
श्याम प्रसाद शर्मा, गोकल जोशी, डा.मोदनाथ प्रश्रित ,गोविन्द भट्ट आनन्ददेव भट्ट लगायतका प्रगतिशील फुटकर वा पुस्तकाकार कृतिहरु पढेर कम्युनिस्ट आन्दोलनमा लाग्थे,प्रगतिशील गीत संगीत सहितको सांस्कृतिक कार्यक्रमबाट प्रभावित भएर माक्र्सवादी हुँदै नेता बन्थे । तर मोदनाथ जस्ता महान् स्रष्टाहरु जिल्ला जिल्लामा आउँदा उहाँ सित नजिक भएर केही न केही सिक्ने स्रष्टा पाइँदैनन् । ती स्रष्टा र बुद्धिजीवी अमुक नेताका अघिपछि बिनासित्तिमा लाम लाग्छन् र समयको दुरुपयोग गर्छन् । धेरै जसो नेता वरिष्ठ स्रष्टा लेखक र कलाकारलाई खासै गन्दैनन् । तिनको महानतम भूमिका कत्ति उल्लेख गर्दैनन् । आफैँ मात्र सर्वज्ञ हुन खोज्छन् ,
स्थानीय निर्वाचनको माहौलका बीचमा जन सांस्कृतिक, बौद्धिक र साहित्यिक कार्यक्रममा त्यस क्षेत्रका सम्बद्ध व्यक्तिहरुको व्यापक आकर्षण देखिन्छ । ओली सरकारका काम र गठबन्धन सरकारका अकर्मण्य गतिविधिसित तुलना गरेर हेरेर पनि एमाले र यसको मोर्चा संगठनमा जनलहर उर्लेको देखिन्छ । फलाम तातेको बेला घन बर्सायो भने मात्र त्यसले निश्चित आकार लिन्छ तर त्यस खालको छन्दबन्द प्रायः देखिएको छैन । त्यस्ता कार्यक्रमहरुमा कविहरु आआफ्ना कविता वाचन पनि गर्छन् तर तिनलाई समय सापेक्ष कविता,गीत लगायत सिर्जना गर्नु पर्छ भनेर भनिदिने अगुवाको अभाव देखिन्छ । त्यस्ता कार्यक्रममा जय सिंह धामी मारिएको , २४ लाख कोरोना खोप गठबन्धन सरकारले आफैँले हराएको भनेको,महाकाली नदीमा भारतले एकतर्फी पक्की तटबन्ध बनाएर नदीको बर्खे भेल नेपाल तिर फर्काउन खोजेको जस्ता यावत् अकर्मण्य गतिविधि आधारित कलात्मक कविता गीत सिर्जना गर्ने कुरा कसले सुझाउने भन्ने समस्या देखियो ।
महासंघको एकजना केन्द्रीय अध्यक्षले मात्र सबै विषय र विचार व्यक्त गर्ने कुरा भएन तर बोल्ने ताँती हुन्छ तर कुरा पुर्याएर बोलिदिनेले स्थान पाउादैन । विषयगत मार्ग निर्देश गर्न सक्ने हैसियतको विषय वक्ता भुईँमा बसेर टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यता देखिन्छ । पार्टीमा र मोर्चा संगठनमा प्रतिभा र गहनाहरु छन् तर ती गहना शरीरको कुन ठाउँमा लगाउने भन्ने थाहा नहुँदा समस्या भएको पनि देखिन्छ । कार्यक्रममा विषय वक्ताहरु धेरै भए पनि अघिल्ला बक्ताले बोलेको विषय बाहेक थप प्रासंङ्गिक र समय सापेक्ष विचार अभिव्यक्त हुँदैन । अहिलेको अवस्था भनेको ओली सरकारका देश र जन हितका कामहरुमा केन्द्रित भएर कलात्मक सिर्जना गर्ने कुरामा केन्द्रित हुनु पर्ने हो । यस्ता विषयमा अझ विशिष्ट अतिथि र प्रमुख अतिथिले वैठक,भेला र सभामा मार्ग निर्देश गरेर बोल्नु पर्ने हो । कार्यक्रमको ओज विशेष र प्रमुख अतिथिले राख्ने गरी मन्तव्य राख्नु पर्ने हो । यसमा विशेष ध्यान दिनु पर्ने पनि देखिन्छ ।
पार्टीका कार्यक्रमहरुमा पार्टी अगाडि हुन्छ भने मोर्चा संगठनका कार्यक्रमहरुमा मोर्चा नै अगाडि हुनुपर्छ र आम जनतामा प्रभाव पार्न सकिन्छ । विशेष अवस्था बाहेक मोर्चा संगठनका भेला,सभा र र कार्यक्रममा मोर्चाको अध्यक्ष प्रमुख हुन्छ, हुनुपर्छ र त्यसैगरी मञ्चको अग्रासनमा प्रायः मोर्चा सम्बद्ध वरिष्ठ प्रतिभालाई राखिन्छ तर कतिपय अवस्थामा यसको ठीक विपरीत काम गर्दा मोर्चामा मोर्चा नै पुच्छर बनेपछि र बनाए पछि त्यसको प्रभाव र पहिचान कमजोर हुन्छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ, विभिन्न विधा,सिर्जना र क्षेत्रका स्रष्टाहरुलाई नेतृत्व गर्ने संघ हो । त्यसैले यसका अध्यक्ष र सहित पदाधिकारी र सदस्यहरु सामान्यतया आफ्ना मातहत सबै विधालाई माक्र्सवादी र जबज अनुसार सौन्दर्य शास्त्रीय विचार चिन्तन र सिद्धान्तका दृष्टिले मार्ग निर्देश वा सहजीकरण गर्न सक्ने क्षमताको बन्न र बनाउन सकिन्छ । अलि अलि पढेर कलम चलाउन थालियो भने कुनै पनि प्रतिभालाई उकास्न र उठाउन नसकिने होइन । विविध विधा र क्षेत्रको उच्च स्तरको कलाकारिता केन्द्रीय स्तरको कलाकार र स्रष्टामा हुनैपर्छ तर त्यसभन्दा पनि ती क्षेत्रलाई समग्रतामा सोद्देश्य दृष्टिकोण सहित परिचालित गर्ने सौन्दर्य शास्त्रीय विचार, चिन्तन र सिद्धान्तको समग्र ज्ञान अगुवा कलाकार र स्रष्टामा अपरिहार्य हुन्छ । नत्र पिँध बिनाको लोहोटा हुने खतरा हुन्छ । यस्ता विषयमा आम कलाकारहरुको विशेष ध्यान जान जरुरी देखिन्छ ।
कार्लमाक्र्सले फयरवाख र हेगेलले प्रतिपादन गरेको भौतिवाद र द्वन्द्ववादको पुनः सृजन गर्नु भएको हो । जननेता मदन भण्डारीले जबजमार्फत् माक्र्सवादमा मात्र होइन सांस्कृतिक क्षेत्रमा पुनः सृजनको सबाललाई सूक्ष्म तर स्पष्ट रुपमा उठान गर्नु भएको देखिन्छ । निषेधको निषेध नियम अनुसार सांस्कृतिक क्षेत्रमा पुनः सृजन गर्न सकिने कुरा माक्र्सवादले स्पष्ट गरेकै छ ।
भण्डारीले सामाजिक कुरीति, अन्धविश्वास र रुढीगत धारणाहरुलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लगिनेछ भन्नु भएको छ । यहाँ प्रयुक्त आन्दोलन शब्दले केवल कालो टालो मात्र हल्लाएर विरोध गर्ने होइन । जनमनलाई नै तरङ्गित पार्ने र प्रगतिशील रुपान्तरणमा सघाउ पुर्याउने सार र सन्दर्भ सहितको आन्दोलन भन्नु भएको हो । सरोेकार समाजलाई राम्ररी सम्झाएर, तिनैको साथ, सहयोग र सहकार्यमा गरिने पुरातन संस्कार र सांस्कृतिक क्षेत्रका नकारहरु जनमनबाट विस्थापित गर्ने सन्दर्भलाई भण्डारीले कलात्मक हस्तक्षेपका रुपमा अथ्र्याउनु भएको छ ।
सामन्तवादी संस्कृतिमा रमाएर गणतान्त्रिक चेत निर्माण हुँदैन र प्रगतिशील सांस्कृतिक रुपमान्तरण त झन् अधुरो हुन्छ । सामन्तवादले हरेक सांस्कृतिक र संस्कार जन्य क्रियाकलाप गर्दा तदनुरुपमा भजन र श्लोकहरु गाउँने र बजाउने काम गर्छ । यसले आम जनमनमा सामन्तवादी संस्कृतिलाई सबल र सशक्त बनाउन ठूलो सहयोग पुग्छ । सरोकार समाजलाई नै अघि सारी सामन्तवाद र पुँजिवादले आफ्नो वर्ग पक्षधर अपसंस्कृति स्थापित र विकसित गरेको छ । वैदिक सनातन,बौद्ध,किरात लगायत संस्कृतिमा संस्कारका अनेक विकल्प दिएको देखिन्छ । यसैमा टेकेर जबजअनु्सार संस्कारहरुमा सुधार आन्दोलन चलाउनु र तिनको उचित विकल्प पनि प्रस्तावित गर्नु पर्छ ।
त्यसैले परम्परागत श्राद्ध,पूजा,ब्रतबन्ध,क्रियाकर्म र पुराणको विकल्पमा निषेधको निषेध अनुसार क्रमशः श्राद्ध समारोह, आधुनिक ब्रतबन्ध वा ब्रतबन्ध समारोह, वाणी पूजा , ५ वा ७ दिने क्रियाकर्म र ,अर्वाचीन पुराण लगायत सरल विकल्प हुनसक्छन् । संस्कार संस्कृतिका नाममा नयाँ पुस्तालाई उचित विकल्प दिनुपर्छ । खाए खा नखाए घिच गर्ने हो हाम्रा मूल्यावान् संस्कृति संस्कारहरु लोप हुनसक्छन् । मदन भण्डारीले राम्रो काम राम्रो तरिकाले सम्पन्न गर्नु पर्छ भनेझैँ धर्म,संस्कृति र संस्कारका क्षेत्रमा दवाव र दमनका आधारमा मान्न बाध्य बनाउने होइन । तथ्य,तर्क, र वास्तविकता का आधारमा सहज रुपान्तरणको उपक्रम सुरु गर्नुपर्छ ।
यस खालको बहुआयामिक सुझबुझ सहितको स्रष्टा नेतृत्व अहिलेको आवश्यकता हो । सही नीति लिन र त्यसलाई कार्यान्वयन गर्न पनि महासंघ सम्वद्ध केन्द्रीय नेतृत्व काम चलाउ मात्र भएर हुँदैन । प्रगतिशील आवरणमा जन सांस्कृतिक महासंघ नाममार्फत् चरम अवसरवादी तथा भड्काउ गतिविधि प्रति होसियार हुनुपर्छ । चारतारे झण्डा बोकेर प्रगतिशील कला, साहित्य र संस्कृतिको संरक्षण गर्ने चिन्तन र चरित्रदेखि होसियार पनि हुनुपर्छ । यस्ता विषयमा आम कलाकारहरुको विशेष ध्यान जान जरुरी देखिन्छ ।
(इटहरी ५ निवासी लेखक एमाले प्रदेश नं.१ का संस्कृति विभाग प्रमुख तथा जन सांस्कृतिक महासङ्घका सल्लाहकार हुनुहुन्छ । )













प्रतिक्रिया दिनुहोस्