जनता टाइम्स

२२ चैत्र २०७८, मंगलवार ०९:३४

देउवाको भारत भ्रमणमा देखिएका देशलाई नै लज्जित बनाउने ती हर्कत


देउवाको भारत भ्रमण राजकीय, औपचारिक, अनौपचारिक या अरु कुन स्तरको थियो भन्ने खुलाइएन । एमालेले चुनाव जित्ने भो भन्दै केही समय यता शेरबहादुर देउवा जताततै डाँको छाडिरहनुभएको थियो । आफ्नै पार्टीको केन्द्रीय समितिमा बरबरी रोएर आँशु पुछ्न गए जसरी देउवाको भारत भ्रमण भएको छ । चुनाव हारिने भयो भन्दै भारत जानुको कुनै न कुनै कारण पक्कै होला । कतै हार्ने चुनाव देउवाले रोक्ने त होइन ? पाँचदलीय गठवन्धनले चुनावमा केही गर्न नसक्ने स्पष्ट भएपछि गठवन्धनको अघोषित पार्टनर खोज्न गएको त होइन ?

गोविन्द थापा

चुनाव हारिने भयो भन्दै डाँको छाडेर रुने, आँशु पुछ्न छिमेकमा जाने विश्वको पहिलो प्रधानमन्त्री को हो ?

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा हो ।

देउवाले डाँको छाडेर रुँदै छिमेक भ्रमण गर्ने अनौठो कीर्तिमान बनाउनुभएको छ ।

कुनै देशको प्रधानमन्त्री विदेश जाँदैछ, विदेश जानु अघिउसले केके गर्छ ? धेरै कामकुरा गर्छ । विदेश जानु अघि देशभित्र आफू असाध्यै कमजोर छु भनेर घोषणा गर्छ ? पटक्कै गर्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत जानु अघि आफू र आफ्नो पार्टी निरीह बनेको, एमालेको तुलनामा कमजोर रहेको, एमालेले चुनाव जित्ने घोषणा गर्नुभयो । एमालेलाई पछार्न भुरेटाकुरे पार्टीहरुसँग गठवन्धनको घोषणा गर्नुभयो । गठवन्धन गरे पनि एमालेसँग चुनाव लड्न गाह्रो छ भन्ने घोषणा गर्नुभयो । त्यसपछि कुम्लोकुटुरो बोकेर भारत जानुभयो ।

संसारमा काम नलाग्ने कुनै वस्तु हुँदैन, कूटनीतिमा अर्थ नलाग्ने कुनै काम हुँदैन । कूटनीतिमा सानोभन्दा सानो कामको पनि अर्थ हुन्छ । जसरी संविधानमा कमा र फुलिस्टपले पनि अर्थमा आनको तान फरक पार्छ, जसरी ह्रस्व र दीर्घले पनि अर्थमा आकाश पातालको फरक पार्छ, त्यसैगरी कूटनीतिमा पनि ससानो कामले अति नै ठूलो अर्थ राख्छ, सन्देश दिन्छ ।

प्रसंग हो प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको । देउवा भारत जानु अघि र गइसकेपछि नेपालमा उहाँको भ्रमणबारे खासै प्रश्न उठाइएन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षले चुनावको मुखैमा किन भारत भ्रमण गरेको हो, फर्किएर आएपछि सोध्छु भन्नुभयो । बाँकी छिटफुट टिकाटिप्पणी भएको देखियो । समग्रमा देउवाको भ्रमणलाई लिएर कडा विरोध भएको देखिँदैन । देशभित्र देउवा र वर्तमान सरकारसँग असहमत जनताको बाहुल्य छ । देउवा सरकार बनेकै अनैतिक, अवैधानिक र असंवैधानिक रुपमा हो, यो जगजाहेर विषय हो । तर, देउवाको भारत भ्रमण भइरहेको बेला विरोध सर्वथा अनुचित थियो । किनभने देशको आन्तरिक राजनीति जेजस्तो भए पनि विदेश गएको बेला देउवा हामी सबैको प्रधानमन्त्री हो, यो देशको प्रधानमन्त्री हो ।

तर, देउवा सबैको प्रधानमन्त्री बन्नुभयो ? भारत भ्रमणका बेला उहाँले नेपालको प्रधानमन्त्री हूँ भनेजस्तो व्यवहार देखाउनुभएन । बरु, कांग्रेसको सभापति, कथित गठवन्धनको एक नेताको हैसियतले भ्रमण गरिरहेको छु भनेजस्तो देखाउनुभयो । परमादेश षडयन्त्रबाट देउवा सरकार बनेको हो । परमादेश षडयन्त्रकै निरन्तरताका रुपमा भ्रमणको अर्थ लागोस् भन्ने ढंगले देउवाले व्यवहार गर्नुभयो ।

हंश, वंश र नक्सा

भारत भ्रमण देउवा एक्लैको अर्थात् प्रधानमन्त्रीको मात्र ठहरिएन । यो भ्रमण परमादेशीय गठवन्धनले गरेको थियो । देउवा निमित्त नायक मात्र हुनुहुन्थ्यो । नेपालमा अस्थिरता र अशान्तिका कारकहरु जोजो हुन्, नेपालको राष्ट्रिय स्वाभिमान र हितका विरोधी जोजो छन् ती सबैको प्रेत देउवाको टोलीमा संलग्न थियो ।

एमसीसी पारित भएकोमा दंग परेका देउवाले चुनाव जित्छु भन्दै डंका पिट्नपर्ने होइन र ? त्यस विपरित रुँदै भारत किन जानुभयो ? देउवाको भ्रमण किन र केका लागि भन्ने बुझाउन एउटा घटना नै काफी छ । देउवाको भ्रमणको बेला भारतको राजधानी नयाँ दिल्ली स्थित नेपालको राजदूतावासबाट चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखियो । देउवाको भ्रमणभित्रको नीति, नियत र दाउपेच बुझ्न यो एउटा प्रकरण नै काफी छ ।

यो देउवाको मात्र भ्रमण होइन, गठवन्धनकै भ्रमण हो । प्रधानमन्त्रीको मात्र भ्रमण भएको भए स्थापित मान्यता अनुसार भ्रमण टोली बन्थ्यो । भ्रमण टोलीमा सामेल पात्र र प्रवृत्तिहरु हेर्दा देउवाले नभएर गठवन्धनले भारत भ्रमण गरेको देखिन्छ । भ्रमण टोलीमा प्रचण्ड र माधव नगए पनि उनीहरुको हंस र राजनीतिक वंश दिल्ली गएको छ ।

यति निर्लज्ज भ्रमण हेर्दा के लाग्छ भने भ्रमण टोलीमा देउवाको साथमा प्रचण्ड र माधव आफैं गएको भए हुन्थ्यो । प्रचण्ड र माधवले मोदी, काशी, विश्वनाथ, आदित्यनाथ, विजेपीको कार्यालय आदि प्रत्यक्ष दर्शन गर्ने मौका गुमाउनुभएको छ ।

भ्रमण अगाडि देउवा सरकारले देखाएको शंकास्पद र अस्वाभाविक व्यवहारहरु–

१– स्थानीय चुनाव तय गरेर भ्रमण गरियो । एमालेलाई जित्न सकिँदैन भन्ने घोषणा गरेर प्रधानमन्त्री देउवा भारत जानुभयो । एमालेसँग जित्न सकिँदैन भन्ने लागेको हो भने जाने ठाउँ जनता माझ हो, भारत होइन ।

२– चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणकै सेरोफेरोमा देउवाको भारत भ्रमण हुने सार्वजनिक गरियो ।

३– भ्रमण अघि सघन गृहकार्य गरिएन । चिनियाँ विदेशमन्त्री आएकै मौकामा भारत भ्रमण सार्वजनिक गर्नुपर्छ भन्ने नियतसाथ भ्रमण तय गरिएको देखियो ।

४– भारत भ्रमण अघि विभिन्न क्षेत्रसँग सुझाव लिने परम्परा अवलम्बन गरिएन ।

५– भ्रमण अघि प्रमुख प्रतिपक्षी दलसँग सल्लाह गरिएन । प्रतिपक्षी नेतासँग सल्लाह लिने परम्परा तोडियो ।

६– परमादेशबाट सरकार बनाएर लगातार नेपालको असंलग्न परराष्ट्र नीति भत्काउँदै गएपछि भारत भ्रमण गरियो ।

७– षडयन्त्रमूलक ढंगले भारत भ्रमण तय गरियो ।

देउवाको भारत भ्रमण रहस्यमय किन बन्दैछ भने उहाँले लिखितम्मा केही पनि गर्नुभएन बकितममा भने ठूलै कुरा गर्नुभयो । जस्तो कि सीमा समस्या । द्धिपक्षीय विज्ञप्तिमा सीमा समस्याबारे एक वाक्य पनि उल्लेख छैन । तर, संयुक्त पत्रकार सम्मेलनमा मोदीको छेउमा उभिएर उहाँले भन्नुभयो– सीमा समस्याबारे कुरा उठाएको छु ।

तर, कुन सीमा समस्या ? कुन ठाउँको सीमा समस्या ? देउवाले चुईंक्क बोल्नुभएन । बोलेर मात्र हुँदैन, दुई देशको आधिकारिक लिखितम्मा कुरा आउनुपर्छ । सीमा विवादबारे लिखितम्मा कुरा आएन ।

सीमा समस्याबारे कुरा उठाएँ भन्नु अमूर्त हो । नेपाल र भारतबीच सीमा समस्या धेरै ठाउँमा छ । पछिल्लो कालमा कालापानी लिपुलेक समेटेर नेपालको सार्वभौम संसद्ले प्रस्ताव पारित गरेर नयाँ नक्सा समेत जारी गरेको छ । संसद्ले समेत उच्च प्राथमिकता दिएको, नेपालको मानचित्रमा समेत परिसकेको लिपुलेक कालापानी उच्चारण नगरी ‘सीमा समस्याबारे कुरा गरे’ भन्नु देश र जनताप्रति गद्धारी हो ।

नेपाली कांग्रेस तथा शेरबहादुर देउवाबाट नाकावन्दीको बेला नाकावन्दी शब्द उच्चारण भएको थिएन । अहिले कालापानी लिपुलेक पनि उच्चारण भएन । कांग्रेसले खासखास बेलामा खासखास शब्द उच्चारण गर्दैन । कालापानी लिपुलेक पनि कांग्रेस र देउवाको मुखबाट नसुनिने भयो ।
भारत भ्रमणमा कालापानी लिपुलेक उच्चारण नगर्नु भनेको देश, जनता, संसद् र नेपालको आधिकारिक मानचित्रप्रति ठूलो गद्दारी हो । शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा भारत जानुभयो, गद्दारका रुपमा फर्कनुभयो भनेर जनस्तरमा टिप्पणी भयो भने अनौठो नमाने हुने भयो । नेपाल र नेपालीका लागि यो दुखद हो ।

कालापानी र लिपुलेक शब्द नै उच्चारण नगरी देउवाले भ्रमण सक्नुभयो तर नेपालमा देउवाले सीमा समस्याको कुरा उठाएर ठूलो हिम्मत गरेको भन्दै कुप्रचार गरिँदैछ ।

देउवाको भ्रमणको सेरोफेरोमा भएका केही अस्वाभाविक कामहरु–

१– नयाँ संविधान बनेपछि नेपालले राष्ट्रिय स्वाभिमान र देशहितलाई केन्द्रमा राख्दै असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको थियो । देउवाको भारत भ्रमणमा त्यस्तो नीति तोडिएको अघोषित घोषणा गरिएको छ ।

२– युक्रेन र रसियाको विवादमा अस्वाभाविक रुपमा जान्ने पल्टिएर देउवा सरकार जसरी बोल्यो, त्यसरी बोल्नु ठिक हो भन्ने ढंगले भारत भ्रमणमा सन्देश दिन खोजियो । अर्थात्, गल्ती सच्याउन देउवा सरकारले प्रयास गरेन, बरु गल्तीलाई नै निरन्तरता दियो ।

३– नेपालका निर्विकल्प छिमेकी चीन र भारत हुन् । चीन र भारतको मित्रता नै नेपालको चाहना हो, दुई देशको द्धन्दले नेपाललाई हानी गर्छ, मित्रताले लाभ हुन्छ भन्ने मान्यताबाट देउवा र गठवन्धन पछाडि हटेको भ्रमण क्रममा देखिएको छ ।

४– लिपुलेक कालापानीको देउवाले उच्चारण नगर्नु, सिर्फ सीमा विवाद भन्नु, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सीमा विवादबारे केही नभन्नुले देउवाको भनाई नक्कली हो भन्ने प्रष्टिन्छ ।

५– प्रवुद्धहरुको समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले ग्रहण गर्नुपर्ने छ । सो प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्रीले मानिरहेका छैनन् । सो प्रतिवेदन बुझ्न नेपाल भने तयार छ । देउवाले सो प्रतिवेदनबारे एक वाक्य उच्चारण नगर्नुको कारण के हो ?

६– सन् १९५० को सन्धि विस्थापित गरेर नयाँ सन्धि गर्न धेरै काम अगाडि बढिसकेको छ, मुख्य त्यही कामका लागि इपीजी बनेको हो । नेपालका पूर्ववर्ती सरकारहरुले सन् ५० को सन्धि विस्थापित गरेर नयाँ सन्धि गर्न जोड दिएकैले इपीजी बनाइएको थियो । मनमोहन अधिकारी सरकारले सबैभन्दा पहिले सन् ५० को सन्धि फेर्नुपर्ने कुरा उठाएको थियो । देउवा सरकारले सो सन्धिबारे बोल्दै बोलेन । अर्थात्, भ्रमणको उद्देश्य राष्ट्रिय स्वाभिमान र देशहित थिएन ।

देउवा र गठवन्धनको आँशु र भारतीय रुमाल

एकदम गम्भीरतासाथ ध्यान दिनुपर्ने कुरा के छ भने देउवाले भारत भ्रमण जानु अघि प्रचण्ड, माधव, मोहनविक्रम सिंह लगायतका भुरेटाकुरे पार्टीसँग गठवन्धन गर्ने घोषणा गर्नुभएको थियो । कसै गरे पनि एमालेसँग चुनाव जित्न सकिँदैन भन्ने घोषणा गर्नुभएको थियो । सामान्यतया चुनावमा हार्ने निश्चित भएको शक्तिले पनि जित्छौं भनेर गफ दिन्छ । अरुको त के कुरा, समाप्त हुन लागेका माओवादीले समेत चुनाव जित्ने र नम्बर एक पार्टी बन्दैछौं भनेर गफ दिन्छ । माधव नेपालले पार्टी बनाइसक्नुभएको छैन, उहाँको पार्टी कांग्रेस र माओवादीको साझा भ्रातृ संगठन मात्र हो । माधवको समूहले समेत चुनाव जित्छौं भनेर मान्छे हसाउँदैछ । तर, कांग्रेस जस्तो स्थापित पार्टीका नेताले चुनाव जित्न सकिँदैन, एमालेसँग हारिन्छ भनेर अगाडि नै इन्तु न चिन्तु बन्नु अस्वाभाविक थियो ।

एमालेसँग कांग्रेस र गठवन्धनले सक्दैन, एमालेले गठवन्धनलाई धुलो चटाइदिन्छ भन्ने जगजाहेर छ । तैपनि देउवाले चुनाव हारिन्छ भन्दै लाचारी प्रकट गर्नुको कुनै षडयन्त्रमूलक कारण थियो । भारत जानु अघि नै देउवाले एमालेसँग हारिन्छ भनेको बिना कारण होइन भन्ने अहिले खुल्दै छ । कुनै जमाना थियो नेपालमा भारतले चुनावी भोटमा तलमाथि पारिदिन सक्थ्यो रे । देउवाले त्यही युग सम्झनुभयो शायद । त्यसैले चुनाव हार्न लागियो भन्दै रुवावासी गरेर दिल्ली जानुभयो । एमसीसी पारित गरेको उत्सव मनाउन मात्र देउवा दिल्ली जानुभएको थिएन भन्ने प्रष्ट भइसकेको छ ।

चुनाव घोषणा, चुनाव हार्ने घोषणा अनि दिल्ली पुगेर भारतीय जनता पार्टी विजेपीको कार्यालय भ्रमण बीच ठूलो सम्बन्ध छ । देशभित्र चुनाव हारिन्छ भन्दै पार्टीको केन्द्रीय समितिमा समेत रुवावासी गर्ने, त्यसपछि गठवन्धन घोषणा गर्ने अनि जनतामाझ जान छाडेर सीधै दिल्ली जाने । यो के गरेको हो शेरबहादुरजी ? प्रश्न सोध्नपर्ने भएको छ । प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले देउवा फर्किएपछि यो बारे सोध्ने घोषणा गर्नुभएको छ । केपी शर्मा ओली नेकपा एमाले पार्टीको नेता मात्र होइन, देशको प्रमुख प्रतिपक्षी नेता पनि हुनुहुन्छ । अब ओलीले देउवालाई कानमा खुसक्क नसोधेरे खुलेआम सार्वजनिक रुपमा प्रश्न सोध्नुहुनेछ भन्ने विश्वास गरौं ।

भारत जानु अघि प्रतिपक्षीसँग सल्लाह नगर्नु, जानु अघि आफू कमजोर भएको, एमालेले चुनाव जित्ने घोषणा गर्नु, अनि मात्र भ्रमणमा जानु भनेको षडयन्त्र नै हो । एमाले बलियो छ, आउँदो स्थानीय चुनावमा एमालेले ‘क्लिन स्वीप’ गर्छ भन्ने सबैलाई थाहा छ । देउवाले घोषणा गरिरहनै पर्दैन । भोलि मतपेटिकाले घोषणा गर्ने नै छ । तैपनि भारत जानु अघि प्रधानमन्त्रीले देशभित्र बलियो छु भन्दै सम्पूर्ण जनताको प्रतिनिधिका रुपमा भ्रमण गर्न लागेको सन्देश दिनुपर्ने होइन र ? ठिक उल्टो सन्देश दिएर भारत जानु भनेको चुनाव जिताइमाग्नु त होइन ? प्रश्न उठेको छ । विजेपीको कार्यालयमा गएर भोट पाइँदैन, जनताको घरदैलो जानुपर्छ भन्ने देउवालाई थाहा छैन र ?

निष्कर्ष

देउवाको भारत भ्रमण राजकीय, औपचारिक, अनौपचारिक या अरु कुन स्तरको थियो भन्ने खुलाइएन । एमालेले चुनाव जित्ने भो भन्दै केही समय यता शेरबहादुर देउवा जताततै डाँको छाडिरहनुभएको थियो । आफ्नै पार्टीको केन्द्रीय समितिमा बरबरी रोएर आँशु पुछ्न गए जसरी देउवाको भारत भ्रमण भएको छ । चुनाव हारिने भयो भन्दै भारत जानुको कुनै न कुनै कारण पक्कै होला । कतै हार्ने चुनाव देउवाले रोक्ने त होइन ? पाँचदलीय गठवन्धनले चुनावमा केही गर्न नसक्ने स्पष्ट भएपछि गठवन्धनको अघोषित पार्टनर खोज्न गएको त होइन ? प्रश्न अनेक छ ।

निष्कर्षमा देउवाको यो भ्रमण बारे यी कुरा भन्न सकिन्छ –

१– नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा अड्न परमादेशीय गठवन्धन तयार छैन ।

२– भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध राखेर राष्ट्रिय स्वाभिमान र हितमा आधारित परराष्ट्र नीति सञ्चालन गर्न गठवन्धन तयार छैन ।

३– पाँचदलीय गठवन्धनलाई जनताको भोटले चुनाव जितिन्छ भन्ने विश्वास छैन । त्यसैले रोइलो गर्दै आँशु पुछ्ने रुमाल खोज्न गठवन्धन विदेशिएको हो, अन्य देशको पनि भ्रमण गर्न सक्छ ।

४– चुनाव हारिने भयो, जिताइदिन पर्यो भन्दै देउवा र गठवन्धनले यसरी नै डाँको छाडेर रुँदै अरु देशको पनि भ्रमण गर्न सक्छ । चुनावको मुखमा विदेश भ्रमणमा जान पाइँदैन भनेर कडा विरोध गरिनुपर्छ । विदेशीसँग नभएर जनताको घरदैलोमा मागेर मात्र भोट पाइन्छ भनेर गठवन्धनले नबुझ्ने भयो ।

५– नेपाल भारत सम्बन्धलाई देउवासहितको गठवन्धनको भ्रमणले नाकावन्दी पहिलेको अवस्थामा फर्काउन सफल भएको छ ।

६– अब देउवा र गठवन्धनले हारिने चुनाव रोक्न सक्छन् । चुनाव रोक्न सम्भव नभएमा व्यापक धाँधली गर्नेछन् । विगतमा भरतपुर महानगरमा गरेको भन्दा निर्लज्ज धाँधली गर्न प्रयास गर्नेछन् ।

७– नेपाल र भारतबीच पारस्परिक सहमति, सहकार्य र सम्मानमा आधारित सम्बन्ध केही टाढिएको छ ।

गठवन्धन र देउवा सरकारले भत्काएको परराष्ट्र नीति चुनावबाट जनादेशले मात्र सच्याउन सक्छ ।

(लेखक थापा एमाले केन्द्रीयसदस्य तथा राष्ट्रिय युवा संघका सह-इञ्चार्ज हुनुहुन्छ )