जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १७:१३

जुम्लामा पनि टुट्यो गठबन्धन, दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्ने


जुम्ला, ११ वैशाख । जुम्लामा गठबन्धन हुन नसकेपछि दलहरू आसन्न स्थानीय तह निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जुम्लामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच तालमेल नहुने भएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएका हुन् ।

चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो । यसअघि केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलरअनुसार जिल्लामा पनि दलहरू छलफलमा जुटेका थिए । तर, सबै दलले आ–आफ्नो अडान कायम राखेपछि सहमति नभएको माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश गठबन्धनको निर्णय एकीकृत समाजवादीले अस्वीकार गरेपछि गठबन्धन टुटेको हो । कांग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भनेपछि गठबन्धन नहुने देखिएको उहाँले बताउनुभयो । एकीकृत समाजवादी पार्टी अध्यक्ष तीर्थ बुढाका अनुसार समाजवादीको मागलाई बेवास्ता गरिएपछि गठबन्धन टुटेको हो ।

‘गठबन्धनमा तिला र सिंजा गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीलाई छुट्याइयो । तर, हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ । उनीहरूले दिन नमाने भएपछि गठबन्धन नहुने भयो,’ उहाँले भन्नुभयो । कांग्रेस पुर्व सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा गठवन्धन टुटेको बताउनुभयो ।