जनता टाइम्स

१३ भाद्र २०७५, बुधबार १२:०३

रोगले थलिए मार्सल आर्ट सुपरस्टार जेट ली, प्रशंसक चिन्तित


मार्सल आर्ट सुपरस्टार जेट लीको पछिल्लो एक फोटो सार्वजनिक भएपछि उनका समर्थक चकित परेका छन्। आफ्ना एक्सन फिल्ममा अत्यन्त चुस्त देखिने यी अभिनेता सार्वजनिक फोटोमा निकै वृद्ध र कमजोर देखिन्छन्। तिब्बतको एक मन्दिर भ्रमणका क्रममा उनको यो फोटो लिइएको जनाइएको छ। उनलाई हिँड्न पनि सहयोगीको चाहिने अवस्था रहेको बताइएको छ। उनी अहिले हाइपरथाइराइडिज्म र मेरुदण्डको समस्यासँग जुधिरहेको बताइएको छ। उनले पाँच वर्षअघिदेखि आफू थाइराइडबाट ग्रस्त भएको खुलासा गतवर्ष गरेका थिए। लेथल विपन ४, रोमियो मस्ट डाइ, एक्स्पेन्डेबल्स २ लगायतका हलिउड एक्सन फिल्ममा अभिनय गरिसकेका ५५ वर्षे जेट ली बेइजिङमा जन्मेका हुन्। उनले आफ्नो बिरामीका कारण शारीरिक चुस्ती आवश्यक पर्ने प्रदर्शन गर्न नसकेको बताएका थिए। उनको पछिल्लो अवस्थाप्रति उनका चिनियाँ प्रशंसकले दुःख व्यक्त गरेका छन्। एजेन्सी