जनता टाइम्स

११ असार २०७९, शनिबार ०७:५९

मनसुनी वायुको सक्रियताका कारण देशैभरको मौसममा बदली,भारी वर्षाको सम्भावना


काठमाडौ,११असार। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका विभिन्न ठाउँमा मनसुनी वायुसँगै स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशका भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ।

देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।मनसुनी वायुको सक्रियताका कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको र केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ।