जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १६:१७

क्यावात ! आयो पेट्रोलियम पाइपलाइनबाट इन्धन : सकियो अमलेखगञ्जमा पहिलो परीक्षण


बारा, साउन ३ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परीक्षण सम्पन्न भएको छ । योजनाको पहिलो परीक्षण आज बिहान सम्पन्न भएको हो । पाइपलाइनको परीक्षण बुधबारबाट सुरु गरिएको थियो । पाइपलाइन प्राविधिक प्रमुख प्रदीप यादवका अनुसार भारतको पटनाबाट सुरुमा पानी पठाएर पानीले सफा गरेपछि मात्र त्यसमा डिजेल पठाएको थियो ।

पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर डिजेल पठाइएको प्राविधिक प्रमुख यादवले जानकारी दिनुभयो । यादवका अनुसार पटनाबाट पठाइएको मध्ये १ लाख लिटर अमलेखगञ्ज डिपोमा राखिने र बाँकी २१ लाख लिटर पाइपमै रहने छ । परीक्षणका लागि भारतबाट २० जना र नेपाल आयल निगमका १० जना प्राविधिक रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको यो परियोजना तोकिएको समयभन्दा झन्डै आधा समयमै सम्पन्न भई परीक्षणसमेत भएको हो ।

परीक्षणको क्रममा बुधवार पठाइएको पेट्रोलियम पदार्थको परीक्षण आज बिहान सकिएको हो । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आयोजना ३० महिनामा सम्पन्न गर्ने गरी १५ महिनाअघि सुरु गरिएको थियो । परीक्षण सकिएसँगै अव दुवै देशका प्रधानमन्त्रीबाट उदघाटन गराई काम अघि बढाउने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष चासो र पहलकदमी रहेको यो आयोजना सरकारले बिशेष अनुगमनलाई निरन्तरता दिएकै कारण पन्ध्र महिना अगावै पेट्रोलियम पदार्थ ल्याउने अवस्थामा पुगेको हो ।

भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । ‘अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ,’ गोइतले भन्नुभयो । पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने योजना छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले कार्यभार निगमको कार्यभार सम्हालेलगत्तैबाट आयोजना सम्पन्न गर्न बिशेष अनुगमन अघि बढाउनु भएको थियो । उदयपुरसिमेन्दमा जादु गरेर नाफामा लग्नुभएका पौडेलले आयाल निगममा पनि यसअयोजनालाई लक्ष्य भन्दा आधा समय अगावै सम्पन्न गराउनु भएको हो । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ ।

अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणको संरचना निर्माण सकिएको छ । कुल ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्थामा छन् । १०.७५ इन्च व्यासको पाइपबाट प्रतिघन्टा ३ लाख लिटर आपूर्ति हुनेछ । पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच २०७२ सालमा सम्झौता भएको थियो । दैनिक २० घन्टा पाइपलाइन सञ्चालन गर्दा चार हजार किलोलिटर डिजेल ल्याउने क्षमताको पाइपलाइन छ । पाइपलाइन सञ्चालनपछि महिनामा ९० करोड रुपियाँ ढुवानी भाडा बचत हुनेछ । डिजेल ल्याउँदा वार्षिक दुई अर्ब रुपियाँ नेपालको बचत हुने निगमले जनाएको छ ।

कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइप लाइनका लागि दुई अर्ब रुपियाँ र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड रुपियाँ लगानी गरिएको छ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल आयल निगमको लगानी हो । निगमका अनुसार अमलेखगञ्जमा भण्डारण टङ्की रहेको छ । हाल २३ हजार किलोलिटर क्षमताको टङ्की रहेकोमा ४२ हजार किलोलिटर क्षमता भएको टङ्की निर्माण भएको छ । सो टङ्की निर्माणपछि एकै पटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सय गाडीले तेल भर्न मिल्नेछ ।

हाल अमलेखगञ्ज डिपोका लागि भारतबाट ढुवानी गर्न सात सय ट्याङ्कर सञ्चालित छन । निगमका अनुसार हाल मासिक पेट्रोलको आपूर्ति करिब ५० हजार किलोलिटर रहेको छ । डिजेल करिब एक सय ८० किलोलिटर रहेको छ भने मट्टितेल दुई हजार किलोलिटर रहेको छ । हवाई इन्धन २० हजार किलोलिटर आपूर्ति हुँदै आएको थियो । अमलेखगञ्जसम्मको पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने गरी छलफल अघि बढेको छ । सन् १९९५ मा अन्तरदेशीय पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच समझदारी (एमओयू) भएको थियो तर काम हुन सकेन ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउनुहुँदा पाइपलाइन आयोजना अगाडि बढाउने प्रतिबद्धता गरेपछि थालिएको थियो । सन् २०१५ को अगस्टमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको थियो । पेट्रोलियम पाइपलाइन प्रधानमन्त्री ओली नेतृत्वको सरकार आफैले सुरु गरी सम्पन्न गरेको पहिलो आयोजना हो ।