काठमाडौं, साउन ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दस्तावेज परिमार्जन गर्दै अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो ।
राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको थियो । अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको दस्ताबेजमा उल्लेख थियो । तर अहिले छापिँदै गरेको दस्ताबेजमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्रहरू भन्ने शब्द राखिएको छ ।
त्यस्तै अर्को ठाउँमा अमेरिकी शब्द झिकेर वाक्यलाई अमूर्त बनाइएको छ । २० हजार प्रति छाप्ने योजनाअनुसार नेकपाको प्रतिवेदन प्रेसमा छ । भारतको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ । दस्ताबेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ ।
संविधान संशोधनको विषयलाई नेकपाको दस्ताबेजले पहिले स्वीकार गरे पनि अहिले मौन छ । ‘नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्ने’ नेकपाको दस्ताबेजमा पहिले उल्लेख थियो । तर अहिले त्यो वाक्य झिकेर संविधान संशोधनका विषयमा केही उल्लेख छैन ।
मधेस केन्द्रित दलहरूले सरकारलाई संविधान संशोधन गर्न दबाब बढाइरहेका थिए । सरकारमै सहयात्री बनेको समाजवादी पार्टीले समेत संविधान संशोधनको सहमति गरी नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर, यस विषयमा नेकपा चुपचाप बसेको छ ।
दस्ताबेजमा पहिले मधेस केन्द्रित दल राजपा र समाजवादी फोरम (अहिलेको समाजवादी पार्टी) लाई मूलधारमा रहन प्रोत्साहित गर्दै एकता र सहकार्यको नीति लिने उल्लेख थियो । तर अहिले ती दललाई मूलधारमा रहन प्रोत्साहन मात्र गर्ने उल्लेख गरेर एकता र सहकार्यका विषयमा पनि मौन बसेको पत्रकार रामकृष्ण अधिकारीले अन्नपुर्ण पोष्टमा समाचार लेख्नुभएको छ ।
नेकपाले कांग्रेसलाई मुख्य प्रतिस्पर्धी दलका रूपमा व्याख्या गर्दै कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा परिभाषित गरेको छ ।तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकता ऐतिहासिक आवश्यकता भएको भन्दै पार्टी कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ भएको विश्लेषण गरिएको छ ।
अमेरिकालाई हेर्ने दृष्टिकोण
पहिले
अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कमदले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको छ ।
अहिले
अमेरिकी शब्द झिकेर त्यसको सट्टामा पश्चिमा शक्ति राष्ट्रहरुले बनाइएको छ ।
पहिले
अमेरिकी नेतृत्वको एक धु्रवीय शक्तिलाई चुनौती दिँदै विश्व बहुध्रुवीय दिशातर्फ अग्रसर भइरहेको छ ।
अहिले
अमेरिकी नेतृत्वको शब्द नै झिकिएको छ ।
भारतलाई हेर्ने दृष्टिकोणबारे
पहिले
नेपाललाई आर्थिक र सुरक्षासम्बन्धी गतिविधिसमेत आफ्नै प्रभावमा निरन्तर राखिरहने छिमेकी शासकको व्यवहारले गर्दा नेपालले उपनिवेशवादी नीति र व्यवहारविरुद्ध समेत निरन्तर संघर्ष गर्नुपरिरहेको छ ।
अहिले
‘छिमेकी शासकहरुको व्यवहारले गर्दा’ शब्द झिकेर ‘वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको व्यवहारले गर्दा’ शब्द थपिएको छ ।
नेपाली समाजको चरित्रबारे
पहिले
नेपाल पुँजीवादको प्रारम्भिक चरणबाट गुज्रिरहेको छ । राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर अवस्थामा छ । उत्पादनशील लगानी र पुनरुत्थान पुँजीवादको मुख्य पक्ष बन्न सकेको छैन ।
अहिले
‘राष्ट्रिय पुँजीवादी उत्पादक शक्ति कमजोर अवस्थामा छ’ भन्ने वाक्य झिकिएको छ ।
संविधान संशोधन र परिमार्जनबारे
पहिले
नेपालको संविधानले पुँजीवादी जनवादी क्रान्तिको आधारभूत परिवर्तन एवं उपलब्धिलाई संस्थागत गरेको छ । सामान्तवाद विरोधी पुँजीवादी जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार संविधानतः पूरा भएको छ । तर नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गदै जानुपर्ने आवश्यकता पर्न सक्छ ।
अहिले
‘तर नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्छ’, भन्ने वाक्य पूरै झिकिएको छ ।
तत्कालीन राजनीतिक परिस्थितिबारे
पहिले
हामीमाथि सरकारमा गएपछि राष्ट्रियताका प्रश्नमा अडान छोड्ने गरेको वा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न नसकेको कथित आरोप लगाउने गरिएको छ । हाम्रो व्यवहारले यो आरोपलाई पूर्ण रुपमा खण्डन गर्नेछ ।
अहिले
यी सबै शब्दहरु नै हटाइएको छ ।
राजनीतिक शक्तिहरुको विश्लेषणबारे
पहिले
संघीय समाजवादी फोरम र राजपा दुवैलाई राजनीतिको मूलधारमा रहन प्रोत्साहित गर्दै तराई–मधेसमा देखा परेका प्रवृत्तिविरुद्ध सम्भव भएसम्म यी दुवै दलसँगको एकता र सहकार्यको नीति लिनुपर्दछ ।
अहिले
‘तराई–मधेसमा देखा परेका प्रवृत्तिविरुद्ध सम्भव भएसम्म यी दुवै दलसँगको एकता र सहकार्यको नीति लिनुपर्छ’ भनने वाक्य हटाइएको छ । ती पार्टीहरुलाई मूलधारमा रहन प्रोत्साहन गर्नुपर्दछ मात्र उल्लेख गरेको छ । समाजवादी पार्टी र नयाँ शक्तिबीचको एकतापछिको समाजवादी पार्टी उल्लेख नगरी पुरानै अवस्थाको पार्टीका रूपमा व्याख्या गरिएको छ ।
कार्यदिशाको व्याख्याका सन्दर्भमा
अहिले
पुँजीवादी जनवादी क्रान्तिको व्याख्याका सन्दर्भमा पहिले उल्लेखित व्याख्यामा थप एक अनुच्छेद थपेर व्याख्या गरिएको छ।
प्रतिक्रिया दिनुहोस्