जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०९:०७

सर्वोच्चको फैसला लत्याउदै ललितपुर महानगरका चिरिबाबुले सम्पदास्थल लगाए ठेक्कामा


पोखरी जोगाउन नेतृत्वकारी भूमिका खेलेको भन्दै मेयर महर्जनले महानगरका नगर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कदमलाल महर्जनलाई जागिरबाट निलम्बन

काठमाडौं, साउन ९

सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङका लागि ठेक्का दिएको छ । स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दासमेत महानगर आफ्नो पूर्ववत् अडानमा छ ।

साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालीन नगरपञ्चायत सभाले पोखरी नै कायम राख्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै मा पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो । तर, अहिले महानगरले साउन १ देखि लागु हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो ।

स्थानीयका अनुसार पोखरी ३२ रोपनी बढी क्षेत्रफलमा फैलिएको थियो । पुल्चोकस्थित अशोक स्तूपलाई शोभा बढाउन वरिपरि चारवटा पोखरी बनाइएका थिए । सबभन्दा ठूलो १६ रोपनी बढी क्षेत्रफलमा फैलिएको महानगर वडा नम्बर २० ‘ख’ कित्ता नम्बर ३७ को हो । अहिले यो कित्तामा ललितपुर महानगरको कार्यालय भवन र पार्क छ । ४१ नम्बर कित्ताको पोखरीमा त्रिपद्म मावि सञ्चालनमा छ ।

पार्किङ सञ्चालन गर्न दिएको कित्ता नम्बर ४० कीर्तिब्रम्हानन्द जोशीको नाममा छ । जुन ४ रोपनी १५ आना ३ पैसा १ दाममा फैलिएको छ । अदालतले त्यतिबेला पोखरीमा स्थानीयले मर्दा जुठो फुकाउने, श्राद्ध गर्दा पिण्ड सेलाउने गर्दै आइरहेको र पोखरी एक सय ८ तीर्थमध्ये एक भएको सर्जमिनबाट देखिएका भन्दै मास्न नहुनेप्रति फैसला गरेको थियो । पले स्वाँ पुखू संरक्षण समिति अध्यक्ष बाबुराजा महर्जन भन्छन्, ‘तैपनि पोखरीमा सभाहल बनाउन २०५४ मा तत्कालीन प्रधानमन्त्रीमार्फत शिलान्यास गराए । स्थानीय नगरपालिकाको विरुद्धमा आवाज उठाए । अनि भवन बन्न दिएनन् ।’

उनका अनुसार त्यतिबेलादेखि नै स्थानीयले नगरपालिकालाई पोखरी नै बनाउन ध्यानाकर्षण गर्दै आइरहेका थिए । महानगरले भने २२ वर्षसम्म बजेट अभाव देखाउँदै टार्दै आएको छ । अन्तमा पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो । स्थानीय पोखरी नै कायम हुनुपर्छ भनेर ९ दिनदेखि धर्ना बस्दै आइरहेका छन् । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले मंगलबार ठेक्का कार्यान्वयन गराउन प्रहरी प्रशासन प्रयोग गरेर हटाउन खोजे । तर, उनीहरू हटेनन् । उल्टो पोखरी संरक्षण गर्न एकजुट भए ।

मेयर महर्जनविरुद्ध नाराबाजी गरे । स्थानीयले ठेक्कापट्टा रद्द नगरे जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने चेतावनी दिएका छन् । समिति अध्यक्ष महर्जन भन्छन्, ‘पोखरी पाटनवासीका लागि पानीसँग मात्र सम्बन्धित छैन । रगत र पसिना बगाएर जोगाएको पोखरी हो ।’ उनले मेयरले पलेर जान खोजेमा पाटनवासी त्यहीअनुसार प्रतिकार गर्न तयार रहेको चेतावनी दिए । ‘कुनै पनि हालतमा पार्किङ सञ्चालन गर्न दिँदैनौँ,’ उनले भने ।

ललितपुर महानगरका मेयर महर्जनले प्रहरी प्रशासन लगाएर दमन गर्न खोजेको आरोप मात्र भएको दाबी गरे । ‘यो सब वाइयात हो,’ उनले भने, ‘जनप्रतिनिधिमा निर्वाचित भएर आएदेखि कसैले पनि पोखरी बनाउने बारेमा ध्यानाकर्षण गर्न आएको छैन ।’ उनका अनुसार स्थानीयले टेन्डर गर्नुअघि नै पोखरी कायम गर्नेबारेमा जानकारी दिनुपर्थ्यो । ‘तर, कहिल्यौ आएन,’ उनले भने । पोखरी जोगाउन नेतृत्वकारी भूमिका खेलेको भन्दै मेयर महर्जनले महानगरका नगर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कदमलाल महर्जनलाई जागिरबाट निलम्बन गरेका छन् । उनले महानगरका कर्मचारी भएर नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न लागिपर्नुको सट्टा विरोधमा लागेको भन्दै निलम्बन गरेको बताए ।

डीएसपी महर्जन नगरपालिकाको विरुद्धमा भने नलागेको स्थानीय बताउँछन् । पुखू संरक्षण समिति अध्यक्ष महर्जनले डीएसपी महर्जनले उक्साएर नभई आफूहरू नै पोखरी संरक्षण गर्न महानगरको विरुद्धमा उत्रिएका बताए । ‘पोखरी बनाउनुपर्छ भनेर यस वर्ष मात्र होइन । विगत दुई दशकदेखि कराउँदै आइरहेका छौँ ।’

स्थानीय पोखरी संरक्षण गर्नुपर्छ भनेर तीन वर्षअघि पनि महानगरमा डेलिगेनसन गएका थिए । डीएसपी महर्जनले आफू नः टोलस्थित मंका खलः (समूह) का अध्यक्ष भएको तर, नगरपालिकाको विरुद्धमा लाग्न स्थानीयलाई नउक्साएको बताए । ‘पोखरी संरक्षण समितिले खलःको अध्यक्षको नाताले बोलाएको ठाउँमा कतै उपस्थित भइदिएको मात्र हो,’ उनले भने, ‘खलःको अध्यक्ष भएको नाताले बोलाएको ठाउँमा उपस्थित हुनु कर्तव्य र दायित्व पनि हो ।’

उनले यसैलाई आधार मानेर निलम्बन गर्नु नियतवश फसाउने खेल भएको बताए । मेयर महर्जनले डीएसपी महर्जनलाई निलम्बन गर्नुपर्ने कारणबारेमा सम्पूर्ण प्रमाण भएको दाबी गरे । ‘अब प्रक्रियागत रूपमा अगाडि बढ्छौं,’ उनले भने । मेयरले पोखरीको बारेमा जानकारी गराउन बोर्ड बैठक राखिएको थियो ।

बैठकमा मेयरले जसरी भए पनि पोखरीमा पार्किङ नै सञ्चालन गर्नर्पुर्ने अडान लिए । केही जनप्रतिनिधिले भने सम्पदा संरक्षण गर्नुपर्ने धारणा राखेको महानगर स्रोतले बताएको छ । पोखरीका बारेमा कुरा गर्न खोज्दा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले प्रतिक्रिया दिन चाहेनन् । (कान्तिपुर)