जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ०६:४८

बाढी-पहिरोपीडितको राहतमा खटियो सेना, पूर्वी पहाडका चार जिल्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी


काठमाडौं, साउन १० । घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भएको दुई साता बितिसक्दा पनि सडक सञ्चालन आउन नसक्दा भित्री मधेसको उदयपुरसहित ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङको जनजीवन प्रभावित भएको छ ।

सडक अवरुद्ध भएसँगै नेपाली सेनाले खाद्यान्न अभाव भएको क्षेत्रमा बिहीबार खाद्यान्नसहितका दैनिक उपभोग्य सामग्रीहरू पठाएको छ । नेपाली सेनाका अनुसार दुवै स्थानीय तहमा ७० हजार किलोग्राम चामल, ६ हजार किलोग्राम दाल, छ सय बोरा नुन र छ सय लिटर खाने तेल राहतस्वरूप हेलिकप्टरबाट पठाइएको छ । घुर्मी–खुर्कोटले उक्त खण्डलाई जोड्दैन । उदयपुरको पश्चिम उत्तरी भूभागसहित ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका गरी करिब पाँच लाख सर्वसाधारणको जनजीविका असहज भएको छ ।

ओखलढुङ्गामा कुखुरा व्यवसाय गर्दै आएका भूपाल खत्रीले भने सडक अवरुद्ध हुँदा व्यवसाय सञ्चालनमा समस्या आएको बताउनुभयो । बुधबार खुर्कोट पुगेर दाना आपूर्तिको व्यवस्था मिलाएका खत्री भन्नुहुन्छ, “सडक पहुँचले दिन बिराएर कुखुराको दाना ल्याउँथ्यौँ, दुई सातासम्म सडक अवरुद्ध हुँदा दाना नपुगेर व्यवसायमा क्षति भएको छ ।” ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ७० प्रतिशत तरकारी आफ्नै उत्पादनले पुग्ने र अन्य उपभोग्य सामग्री भण्डारण गरेर राखिएको हुँदा आपूर्ति व्यवस्थाले ठूलै असहजता नल्याएको दाबी गर्नुभयो ।

उहाँले लामो समयसम्म घुर्मी–कटारी खण्ड अवरुद्ध भए पनि छिट्टै सञ्चालन नभए महँगी नियन्त्रणमा समस्या हुने बताउनुभयो । पहिरोले सडक अवरुद्ध हुँदा उदयपुरको पश्चिम र उत्तरी भाग तथा पूर्वी पहाडका तीन जिल्लामा दैनिक उपभोग्य सामग्री र इन्धनको मूल्य महँगिएको हो । असार २६ गते सिद्धिचरण राजमार्गको घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक बगाएदेखि अवरुद्ध बनेको हो । अवरुद्ध सडक निर्माणको कार्य भइरहेको छ ।

त्यस क्षेत्रमा पाँच सय मिटर खण्ड पहिरोले बगाएको छ । सडक डिभिजन कार्यालय, लहानका प्रमुख विनोद साहले अवरुद्ध सडकको पाँच सय मिटर खण्डमा डाँडा काटेर नयाँ सडक बनाउन लागेको जानकारी दिनुभयो । डिभिजन प्रमुख साहले भन्नुभयो, “दैनिक रूपमा १० वटा उपकरण लगाएर बाटो बनाइँदै छ, अर्को साता सञ्चालन हुने छ ।” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले ‘लाइफ लाइन’ मानिएको उक्त खण्ड अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य सामग्री र इन्धन अभाव हुन नदिन वैकल्पिक बाटोका रूपमा सिन्धुली–खुर्कोट–घुर्मी खण्ड प्रयोग गरिएको बताउनुभयो ।

सोलुखुम्बुमा भने इन्धन अभाव भएको छ । भण्डारण गरिएको पाँच हजार लिटर इन्धन सुरक्षा संयन्त्रको प्रयोगका लागि सञ्चित राखिएको प्रजिअ रानाले बताउनुभयो । उक्त वैकल्पिक बाटो लहान–कटारी–घुर्मीभन्दा करिब २५० किलोमिटर बढी हुन आउँछ । उहाँले साउन पहिलो सातासम्म जनजीवन असहज भए पनि खुर्कोट–घुर्मी खण्ड सुरु भएपछि अपेक्षाकृत जनजीवन सहज भएको बताउनुभयो । दैनिक उपभोग्य सामग्रीसहित इन्धन, औषधिलगायतका अत्यावश्यक सामान आपूर्ति गर्न उदयपुर हुँदै ओखलढुङ्गासहित पूर्वी पहाडका अन्य जिल्लाहरूमा कटारी–घुर्मी सडकखण्ड प्रयोग हुँदै आएको छ ।

ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा दैनिक उपभोग्य सामग्री आपूर्ति गर्दै आएका कुमार गौतमले भने उपभोग्य सामग्रीको मूल्य थपिएको बताउनुभयो । सामान ढुवानीमा प्रतिकिलोग्राम दुईदेखि चार रुपियाँ थपिएको उहाँ प्रस्ट्याउनुहुन्छ । खुर्कोट–घुर्मी खण्डमा सात टनमाथिको सवारीसाधन प्रयोगमा बन्देज लगाइएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार जिल्लाको रौतामाई, लिम्चुङवुङ गाउँपालिका र उदयपुरगढीमा पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको छ । उदयपुरको ताप्ली र लिम्चुङवुङसित दुई सातादेखि सम्पर्क विच्छेद बनेको छ ।