काठमाडौं, १ जेठ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना गर्ने वडाध्यक्ष नवीन मानन्धरलाई प्रवक्ताबाट हटाउनुभएको छ। गत चैत २१ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गराउन मुख्य भूमिका खेल्नुभएका मानन्धरलाई हटाएर नयाँ प्रवक्तामा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ । उहाँलाई सूचना प्रविधि समिति संयोजक बनाएर उक्त जिम्मेवारी दिइएको हो ।
गुरागाईंलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराउँदा मानन्धर अग्रमोर्चामा हुनुहुन्थ्यो । त्यसपछि उहाँले बालेनलाई तीन वर्षसम्म काँधमा हालेर बोके पनि अब नसकिने भन्दै कडा आलोचना गर्नुभएको थियो । त्यहीकारण उहाँलाई प्रवक्ताबाट हटाइएको बताइएको छ । बालेनले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । बालेनले आफ्नो विरोधमा उत्रिने र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिने वडाध्यक्षहरूलाई भूमिकाविहीन बनाउनुभएको छ । काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको छ ।
जसअनुसार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक हुनुहुन्थ्यो । अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । रेजिना उपनिर्वाचनबाट विजयी रास्वपाकी नेतृ हुनुहुन्छ ।
वडा नं १७ का अध्यक्ष मानन्धर यसअघि २ साउन २०७९ मा महानगरका प्रवक्ता बन्नुभएको थियो। कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्