जनता टाइम्स

२० श्रावण २०७६, सोमबार ०८:१४

मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष : आर्थिक स्थायित्वको सवालमा सही ठाउँमा छ ओली सरकार


काठमाडौं, साउन २०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आर्थिक समृद्धिको विषयमा सरकारले लिएको नीति सही दिशामा रहेको बताउनुभएको छ । सुरुआत सही ठाउँमा गरिएकाले परिणाम पनि सही आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

“आर्थिक स्थायित्वको सवालमा सरकार सही ठाउँमा छ । प्रधानमन्त्रीको विकासको सपना पनि पूरा हुन्छ । ” मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “विकासको दृष्टिकोण स्पष्ट छ, रणनीतिक आयोजना अगाडि बढेको छ । अर्थतन्त्र चलायमान भएको छ । अर्थतन्त्रले गति लिएको छ । यो अवस्थामा मुलुक आर्थिक विकासको दृष्टिले सही बाटोमा छ”, नेता पोखरेलले भन्नुभयो, “काम गर्ने क्रममा केही चुनौती देखिएका छन्, त्यसको सहज व्यवस्थापनबाटै समृद्धि सम्भव हुन्छ । ”

काम गर्ने क्रममा सरकार ‘अघि बढ्ने र पछि हट्ने’ विषयमा अनेक टिप्पणी भइरहेका बेला नेकपाका नेतासमेत रहनुभएका पोखरेलले भन्नुभयो, “कुशल नेतृत्व अगाडि बढ्ने र पछाडि हट्ने क्रम भइरहन्छ । परिस्थितिअनुसार चल्नसक्नु नेतृत्वको दूरदर्शिता हो, कमजोरी होइन । ” हामीकहाँँ विरोधका लागि विरोध हुने गरेको बताउँदै उहाँले विरोध पनि सिर्जनात्मक भएमा मुलुकलाई फाइदा पुग्ने बताउनुभयो । सरकारलाई कमजोर पार्ने गरी विरोधका गतिविधि भइरहेको भन्दै उहाँले विरोधलाई मत्थर पार्न पनि सरकार पछि हट्नु कमजोरी नहुने बताउनुभयो ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले नेपालका बुद्धिजीवीहरूले सतही रूपमा आर्थिक विश्लेषण गरिरहेको बताउनुभयो । “नेपालका अर्थशास्त्रीले नेपाल पढेकै छैनन्, विदेश मात्र पढेका छन् । विदेश पढेर नेपालको अर्थतन्त्रका विषयमा गरेको विश्लेषण कसरी मेल खान्छ ?”, जिज्ञासा गर्दै उहाँले थप्नुभयो, “फिल्डमा गएर काम नगरी कसरी सही विश्लेषण हुन्छ ? यसले समाजमा भ्रम सिर्जना गरिरहेको छ । ” नेपालको अर्थतन्त्र औपचारिकभन्दा अनौपचारिक बढी रहेको र त्यही विकासको जग भएको उहाँले बताउनुभयो ।

“नेपाल बिग्रने अवस्थामा छैन । नेपाल सप्रिने ठाउँमा अगाडि बढिसकेको छ”, उहाँले बताउनुभयो । नेपालमा मकैको आयात बढी भयो भनेर टिप्पणी गरिनु गलत भएको बताउँदै उहाँले भन्नुभयो, “नेपालमा व्यावसायिक फर्म सुरु भए, दाना उद्योग स्थापित भए । दानाको मुख्य स्रोत मकै हो, त्यसले अर्थतन्त्रको जग बसाउँछ । सय रुपियाँको मकैको दानाबाट एक हजारको कुखुरा उत्पादन गरिन्छ भने कसरी हामी गलत भयौँ ?”

मकै बाहिरबाट आयात हुनु भनेको नेपालमा उत्पादकत्व बढ्यो भनेर बुझ्नुपर्छ । अर्थशास्त्रीहरूको ध्यान यता नगएको चर्चा उहाँले गर्नुभयो । “चार वर्ष लगाएर देवानी फौजदारी संहितासम्बन्धी कानुन अध्ययन गरियो, एक वर्ष संसद्मा छलफल र बहस भयो, पास भएको एक वर्ष सच्याउनका लागि राखियो, एक वर्षपछि लागू गर्दा त्यो कानुनविरुद्ध नेपाल पत्रकार महासङ्घ सडक आन्दोलनमा गयो”, पोखरेलले भन्नुभयो, “तयारी नपुगेको कसरी भनौँ यसलाई, जनतालाई सूचना दिने समय गुज्रेपछि मात्र महासङ्घ विरोधमा किन गयो ? विरोधको माहोल पाएपछि मात्र विरोधमा गयो, यसको अर्थ तथ्यमा भन्दा मनोगत विरोध यहाँ हुन्छ भन्ने यसैबाट पुष्टि हुन्छ । ”

एक अर्को प्रसङ्गमा नेता पोखरेलले नेतृत्वले नै नीति बनाउने भएकाले ‘नीति नेतृत्वकै’ हुने बताउनुभयो । नेतृत्वले नस्वीकार्दासम्म कुनै पनि विचार संस्थागत हुन नसक्ने उहाँले बताउनुभयो । “एउटाले नीति बनाइदिने र अर्कोले नेतृत्व गर्ने कुरा हुँदैन, नेतृत्व नीतिभन्दा बाहिर रहँदैन, नेतृत्व विचार र नीतिसहित हुन्छ”, उहाँले भन्नुभयो । नेकपाको स्कुल विभागको विषयमा अनेक जिज्ञासा उठिरहँदा नेता पोखरेलले नेतृत्वलाई जुन पात्र उपयुक्त लाग्छ, त्यसैलाई अगाडि सार्न उपयुक्त हुने बताउनुभयो ।