जनता टाइम्स

२६ कार्तिक २०७९, शनिबार १५:५९

विष्णु पौडेलको शालीन चुनावी शैली : कसैलाई गर्दैनन गाली, गर्छन केवल विकासका कुरा


आफ्नो पहलमा रुपन्देही–२ मा ८० भन्दा धेरै पुर्वाधार आयोजना अघि बढाउनुभएका एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेललाई ती आयोजनाबारे मतदातालाई जानकारी गराउन भ्याई नभ्याई छ ।

रुपन्देही, कात्तिक २६ । चुनावका बेला मतदाता प्रभावित पार्न विपक्षी दल र उम्मेदवारबारे चर्को स्वरमा तथानाम आलोचना र गाली गर्ने परिपाटी नेपाली राजनीतिमा नौलो होइन । अहिले पनि धेरै जसो दल र उम्मेदवार आफ्ना प्रतिस्पर्धी दल र उम्मेदवारको बारेमा भए नभएका आरोप र लाञ्छना लगाएर आफू गतिलो भएको देखाउने कोशिसमा छन् ।

तर रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेल भने यस्तो फोहोरी खेलबाट टाढा हुनुहुन्छ । उहाँले चुनावी भाषणका क्रममा कसैलाई आलोचना र गाली नगरेर केवल रुपन्देही र यस आसपासको क्षेत्रलाई कसरी थप विकसित र समृद्ध बनाउन सकिन्छ ती योजना र कार्यक्रमकै चर्चा गर्नुहुन्छ ।

आफू अर्थमन्त्री हुँदा रुपन्देहीमा मात्रै १२ अर्ब रुपैयाँ बढी वजेट पार्नुभएका पौडेललले आफ्नो पहलमा यस क्षेत्रमा ८० भन्दा धेरै पुर्वाधार आयोजना अघि बढाउनुभएको छ । त्यही भएर पौडेललाई ती आयोजनाबारे मतदातालाई जानकारी गराउन नै भ्याई नभ्याई छ । उहाँका विकास योजनाहरु देखेर विपक्षी दलका नेताहरु पनि छक्क पर्छन ।

विकासवादी नेतामा देशमै अग्रणीमा पर्ने पौडेलले तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजनाबारे मतदातालाई जानकारी गराउँदै हिँड्नुभएको छ । उहाँको चाहना र उद्देश्य रुपन्देहीलाई विकास र पुर्वाधारमा देशमै उत्कृष्ट र अब्बल बनाउने भन्ने छ ।

लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्वअर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिनुभएको छ ।

राजनीतिक भाषण र अरुको आलोचना कम, बिकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भीर देखिनुहुन्छ । विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गर्नुभएको छ ।

दैनिक घरदैलो अभियानमा रहेको नेता पौडेलले आफ्ना विकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा मानसिकताले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने भन्दै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहनसमेत आग्रह गरिरहनुभएको छ ।

शनिवार पनि घरदैलोका क्रममा नेता पौडेलले विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै बुटवलमा सुरु गरिएका विभिन्न विकास योजनाहरुमा राजनीतिक स्वार्थ साँधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गर्नुभयो । जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उहाँले मुलुकलाई समृद्धितर्फ लैजानका लागि विकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताउनु भयो । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता हुने गरेको उहाँले बताउनु भयो ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सुम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो । मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताउनुभयो । ‘मुलुकलाई सही बाटोमा ल्याएर हिंडाउनका लागि नेकपा एमालेकै नेतृत्व आवश्यक छ,’ पौडेलले भन्नुभयो, ‘मंसिर ४ पछि मुलुकको नेतृत्व एमालेले गर्छ । तपाईहरु ढुक्क भएर सूर्यमा मतदान गर्नुहोस ।’

मतदाताहरु पनि विकासका यति धेरै योजना अगाडि सारेका पौडेलवाहेक अरु उम्मेदवारलाई भोट दिने मनस्थितिमा नरहेको स्पष्ट देखिन्छ ।
नेपाली कांग्रेस र माओवादीकै कार्यकर्ताहरु विकासप्रेमी र भिजनरी नेताको राष्ट्रिय छवि बनाएका पौडेललाई नै मत दिएर जिताउने सार्वजनिक रुपमै बताइरहेका छन । जसले गर्दा पौडेल उत्साहित हुनुहुन्छ । पौडेलको यस्तो शालीन चुनावी शैली अरु दलका उम्मेदवारले पनि अनुशरण गरे देशमा असल राजनीतिक संस्कारको विकास हुने विश्लेषक ऋषि आजाद बताउनुहुन्छ ।