जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार ०६:५८

प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला


काठमाडौं, साउन २३ । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आउनुभएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।”

मुख्यमन्त्री राउतले भन्नुभयो, “लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन । अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ ।”

त्यसैगरी प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ ।