जनता टाइम्स

२२ मंसिर २०७९, बिहीबार २०:१८

पश्चिम सेती बनाउने लाइसेन्स भारतीय कम्पनीले लिइसकेको छ : प्रधानमन्त्री


धनगढी, मंसिर २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजना भारतले बनाउने पक्कापक्की भइसकेको बताउनु भएको छ । धनगढीमा आज सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो ।

‘सुदूरपश्चिमको आर्थिक विकासका लागि पनि पश्चिम सेती आवश्यक थियो। भारतको कम्पनीले पश्चिम सेती बनाउनका लागि लाइसेन्स लिइसकेको छ। त्यो भरपर्दो कम्पनी हो, त्यसैले अब पश्चिम सेती बन्छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले पञ्चेश्वर परियोजना बनाउनका लागि भारत तयार रहेको फेरि पनि भारतका प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनु भयो । ‘भारत भ्रमणका बेला पनि भारतीय प्रधानमन्त्री पञ्चेश्वर परियोजनाको विकासका लागि तयार हुनु भएको हो। म फेरि पनि भारतका प्रधानमन्त्रीसँग कुरा गर्छु। पञ्चेश्वर परियोजनाले नेपालको मात्रै होइन, भारतलाई पनि फाइदा गर्छ। भारत पनि बनाउन तयार छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले अहिले देशमा आर्थिक मन्दीको अवस्था रहेकाले सरकार त्यसको समाधानका लागि पहल गरिरहेको बताउनु भयो। उहाँले पञ्चेश्वर परियोजना, पश्चिम सेतीमात्रै होइन, राष्ट्रिय गौरवको रानीजनमरा गुलरिया सिचाई आयोजना, दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकालीको चार लेनको पुलजस्ता आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान पुर्याउने योजनाहरू सरकारको प्रार्थमिकतामा रहेको बताउनु भयो ।

‘पश्चिम सेती र पञ्चेश्वरमात्रै होइन। सुदूरपश्चिमका लागि राष्ट्रिय गौरवको योजना रानी जमरा कुलरिया सिचाई आयोजना, महाकालीमा बनिरहेको चार लेनको पक्की पुल, दोधाराचादनीमा सुख्खा बन्दरगाह र विषेश आर्थिक क्षेत्रजस्ता रोजगार दिलाउनसक्ने परियोजना सरकारका प्राथमिकतामा छन्। हामीले यी योजनाहरूको छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउनका लागि पहल गरिरहेका छौं’ प्रधामन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवालाई महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्य १५ वटा माग र १५ किलोको माला पनि लगाइएको थियो। कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ को क्यालेन्डरमा महोत्सवको आयोजना गर्दै आएको छ। महोत्सवमा देशका कार्यकारी प्रमुखलाई बोलाउने र आफ्ना मागहरू बराबर फूलको माला हाल्ने परम्परा बसाइएको छ। २२ किलोको माला र २२ वटा मागहरूबाट सुरु भएको महोत्सवमा यो पटक गरी देउवाले तीन पटक माग बराबरको माला लगाइसक्नु भएको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन सत्रमा प्रदेश प्रमुख देबराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका बक्ताहरूले मन्तब्य राख्नुभएको थियो ।

महोत्सवका सुदूरपश्चिमका कलासंस्कृति झल्किने झाँकीहरू प्रस्तुत गरिएका थिए भने विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका आधा दर्जन बढी ब्यक्तिहरूलाई सम्मान गरिएको थियो।