जनता टाइम्स

११ पुष २०७९, सोमबार १९:५६

संकटउन्मुख अर्थतन्त्रलाई सुधार्ने यस्ता छन बिष्णु पौडेलका योजना


काठमाडौं, पुस ११ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विज्ञको सुझावमा अर्थतन्त्र सुधार्ने अठोट गर्नुभएको छ । राष्ट्रपति शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ ग्रहणपछि सिंहदरबार पुगेर तेस्रो पटक अर्थमन्त्रीका रुपमा पदभार सम्हाल्दै पौडेलले यस्तो अठोट गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सही दिशामा डोहोर्याउने प्रतिबद्धता जनाउनु भयो । अर्थ मन्त्रालय र सम्बद्ध सार्वजनिक निकायका कामकारबाहीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णयमा उहाँले हस्ताक्षर गर्नुभएको छ । अहिले अर्थतन्त्रमा चुनौतीहरु धेरै रहेको उल्लेख गर्दै उहाँले आफूले अर्थजगतका सबै पक्षसँग सहकार्य गरेर समस्या समाधान गर्नतिर लाग्ने प्रतिबद्धता जनाउनु भएको हो ।

‘बिग्रदो अर्थतन्त्रका सम्बन्धमा विज्ञहरुसँग परामर्श गरेर समाधान गर्ने दिशातिर लाग्नेछु, समस्या काबुबाहिर छैनन, म सबैलाई विश्वस्त हुन आग्रह गर्छु कि अर्थतन्त्र सुधारमा नै मेरो प्रमुख ध्यान रहनेछ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो । चालु खर्चको सीमालाई कम गर्ने दिशातिर उन्मुख हुँदै स्रोत व्यवस्थापनतिर लाग्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भएको छ ।

उहाँले पहिले समस्याको लिस्ट तयार गरेर समाधानका लागि विज्ञहरूबाट राय लिने योजना सुनाउनु भयो । पौडेलले समस्या समाधानमा सवैको सहयोग लिन आफू कत्ति पनि नचुक्नेसमेत बताउनु भएको छ । एमाले उपाध्यक्ष पौडेलले इमान्दारपुर्वक प्रयाश गरेर मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यमा सफल हुने बिश्वाससहित काम अघि बढाउने समेत बताउनु भएको छ ।