काठमाडौं, पुस १२ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा पौडेलले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको पनि प्रष्ट पार्नुभयो । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने अर्थमन्त्री पौडेलको भनाई थियो ।
‘वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद बैठकले अर्थतन्त्रलाई सुधार गर्न विभिन्न उपाय अपनाउने निर्णय गरेको छ, यो समस्या सम्बोधन गर्न सबैको साझा प्रयास हुनुपर्छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भन्नुभयो ।
निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै उहाँले सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । ‘निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईंहरूको मनोबललाई उच्च बनाएर काम गर्नुहोस,’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘म तपाईंहरूको प्रतिनिधिका रुपमा समस्या समाधानका लागि काम गर्नेछु ।’
भेटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताउनु भयो । अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उहाँले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो । अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको गुनासो पनि उहाँले गर्नुभयो ।

गोल्छाले मुलुकको अर्थतन्त्र अहिलेसम्मकै अप्ठ्यारो अवस्थामा पुगेको जिकिर गर्दै तत्काल अर्थतन्त्र सुधारको दिशामा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । ‘तपाईं आएपछि दुई दिनमै पूँजी बजारले सकारात्मक सङ्केत गरेको छ । समग्रमा अर्थतन्त्र अप्ठ्यारोमा छ, निजी क्षेत्र समस्यमा छ, चालू खर्च राजस्वले मात्रै धान्न सक्ने अवस्थामा छैन’, अध्यक्ष गोल्छाले भन्नुभयो ।
अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बंैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा सङ्कुचनका साथै पूँजीबजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको बताएका थिए ।
उपप्रधान एवं अर्थमन्त्री पौलेलसँग आजै नेपाल उद्योग परिसंघले पनि भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज अर्थ मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।
परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउनुभयो । उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।
उहाँले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रति महिना ब्याजदर घटाउने र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश संचार गराउने र उद्योगी व्यवसायीलाई उत्साहि बनाउने बताउनुभयो । यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणा अर्थमन्त्री समक्ष पेश गर्नुभएको थियो । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावका लागि धन्यवाद दिनुभयो । उहाँले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने बताउनुभयो ।
अर्थमन्त्रीसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजश्व सचिव रामेश्वर दंगाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र पनि सहभागी हुनुहुन्थ्यो । सो क्रममा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई परिसंघका पुर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, रोहित गुप्ता, परिसंघ गभर्ननिङ्ग काउन्सिल सदस्य शिवरतन शारदा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशीले पनि बधाई तथा शुभकामना दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्