जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १५:४६

पर्यटनमन्त्री भट्टराई एक्शनमा उत्रिएपछि तात्यो निगम : भ्रमण बर्ष लक्षित गरी धमाधम परीक्षण उडान


सिबी अधिकारी/ काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानलाई थप विस्तार गर्न धमाधम परीक्षण उडान शुरु गरेको छ । भ्रमण वर्षलाई लक्षित गर्दै निगमले आन्तरिकतर्फ योजनाबद्ध तयारी एवं व्यवस्थापनका साथ भएका जहाजलाई पूर्णक्षमतामा उडाउने गरी विभिन्न गन्तव्यमा परीक्षण उडान गरिरहेको हो ।

नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुर्याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगशे भट्टराईले नेपाल भ्रमण बर्षका सफलताका लागि कुनै कसर नराख्न निर्देशन दिनुभएलगत्तै निगमले अभियान अघि बढाएको हो । मन्त्रालयको कार्यभार सम्हाल्नसाथ भट्टराईले वाह, नेवानि बनाउने घोषणा गर्नुभएको थियो भने निगम पदाधिकारीलाई बोलाएर कामको योजनासहित अघि बढन निर्देशन दिनुभएको थियो ।

मन्त्री भट्टराईले नेवानिलाई सुधारका लागि समग्र पाटोको अध्ययन गरी सुझाव दिन पूर्वसचिवको नेतृत्वमा निगम सुधार समितिसमेत गठन गरिसक्नु भएको छ । मन्त्री भट्टराईले नेवानिलाई सुधार गरेरै छाडने लक्षका साथ काम थालेपछि निगम ब्इवस्थापन पनि आफूलाई सुधार गर्दे अघि बढेको हो ।निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भ्रमण वर्षलाई लक्षित गर्दै निगमको कार्यकारी समितिलाई आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिनुभएको थियो । सोहीअनुरूप निगमले आफ्नो सक्रियता बढाउँदै आन्तरिकतर्फ परीक्षण उडान शुरु गरिएको हो ।

निगमले यही साउन १८ गते चौरजहारी र ताप्लेजुङमा परीक्षण उडान गरिएको थियो । त्यस्तै साउन १९ र २० गते रुकुम र भोजपुर तथा साउन २१ र २२ गते बाजुरा र तुम्लिङटार परीक्षण उडान गरेको थियो । यी गन्तव्यमा निगमका ‘वाई–१२ ई’ जहाजबाट परीक्षण उडान गरिएको सह–प्रवक्ता मिश्रले बताउनुभयो । मिश्रका अनुसार भोलि सोमबार फाप्लु र २८ गते रुम्जाटार परीक्षण उडान गर्ने निगमको योजना छ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकिएको छ । वाई–१२ जहाजबाट क्याप्टेनद्वय आङ्नुरी शेर्पा र फिजोनाथ नेपाली र सह–चालक महेशराज पाण्डेले परीक्षण उडान गर्नुहुनेछ ।

निगमसँग १४ सिट क्षमताका चार वाई–१२ जहाज छन् । यीमध्ये अहिले दुई जहाज नियमित उडानमा छन् भने दुई प्राविधिक मर्मतको क्रममा रहेका छन् । निगमको ५८ सिट क्षमताका दुई ‘एम–६०’ जहाजमध्ये एक मात्र उडानमा छ । अर्को जहाज मर्मतको क्रममा छ । यसैबीच निगमले काठमाडौँ–लुक्ला सिधा उडानका लागि प्राधिकरणसँग उडान अनुमतिका लागि निवेदन दिएको छ ।

आगामी भदौ महिनादेखि लुक्लामा नियमित उडान गर्ने योजनाका साथ निगमले उडान अनुमति माग गरेको हो । हालको रामेछापबाट लुक्ला उडान गर्न समस्या परेको भन्दै निगमले काठमाडौँबाटै उडानका लागि अनुमति माग गरेको सह–प्रवक्ता मिश्रले बताउनुभयो । त्रिभुवन अन्तरारष्ट्रिय विमानस्थलको चापलाई मध्यनजर गर्दै अहिले रामेछापबाट विमानस्थलबाट लुक्ला विमानस्थलमा उडान गर्ने व्यवस्था गरिएको छ ।

देशभरका सबै विमानस्थलमा परीक्षण उडान गर्ने योजनाअनुरूप अब बाँकी रहेका विमानस्थलमा पनि यही महिनाभित्र परीक्षण उडान गरिनेछ । कुनैपनि गन्तव्यमा व्यावसायिक उडान गर्नु पहिला परीक्षण उडान गर्नुपर्ने हुन्छ । अधिकतम क्षेत्रमा आन्तरिक उडान गर्ने व्यवस्था गरी निगमले पर्यटन प्रर्वद्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

भ्रमण वर्ष नेपालको पर्यटन प्रवद्र्धनका लागि सर्वाधिक महत्वपूर्ण अवसर भएकोले निगमले रचनात्मक एवं सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने विशेष अवसरका रूपमा लिएको जनाउँदै त्यसका लागि सम्पूर्ण शक्ति लगाउनेतर्फ प्रयास केन्द्रीत गरेको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । अन्तराष्ट्रियतर्फ निगमले प्रदान गरिरहेको सेवा प्रभावकारी रहेको सन्दर्भमा आन्तरिकतर्फ पनि योजनाबद्ध सुधारको काम अघि बढाएको निगमले जनाएको छ ।