जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार ११:१८

सरकारले सुन्यो प्रवासी नेपालीको आवाज : बिमानस्थलमै मोवाइल दर्ता र भन्सार लिने निर्णय स्थगित


काठमाडौं, पुस १५ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने निर्णय स्थगित गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलको निर्देशनपछि प्राधिकरणले आजबाट लागू गर्ने योजना गरेको एमडीएमएसबाटपछि हटेको हो ।

यो निर्णयसँगै बिदेसबाट मोवाइल ल्याउँदा भन्सार लिने निर्णय स्थगित भएको छ । प्रधानमन्त्री र अर्थमन्त्री पौडेलले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिनुभएको हो ।

भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्री स्वयंले ‘तयारी पूरा गरेर अलि पछि लागू गरौं’ भन्ने निर्देशन दिएपछि यो प्रणाली स्थगित गरिएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम सिस्टम (एमडीएमएस) स्थगित भएको जनताटाइम्स डटकमलाई बताउनु भयो ।

‘तयारी पूरा गरेर गर्ने कुरा भयो, हाललाई स्थगित भएको छ,’ खनालले जनताटाइम्स डटकमसँग भन्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि यो प्रणाली पूर्ण सञ्चालनमा ल्याउने भएकोले मोबाइल अनिवार्य दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । प्रधानमन्त्री र अर्थमन्त्रीले स्थगित गर्न दिनुभएको निर्देशनपछि यो प्रणाली लागू हुने मिति अनिश्चित बनेको छ ।

एमाले निकट संगठन प्रवासी नेपाली मञ्चले बिहीवार बिज्ञप्ती नै जारी गरी ‘मोवाइल ल्यापटपमा भन्सार लिने निर्णय प्रबासी नेपालीमाथिको निर्मम शोषण हो, तत्काल सच्याउन अल्टिमेटम दिएको थियो । मञ्चको बिज्ञप्तीसँगै प्रवासमा रहेका सवै नेपालीले यो निर्णय सच्याउन माग गरेका थिए भने नो रेमिट्यान्स अभियानसमेत सुरु भएको थियो ।

प्रधानमन्त्री र अर्थमन्त्रीले ती सवै प्रवासीको आवाज सुनेर निर्णय कार्यान्वयन स्थगित गर्न प्राधिकरण र भन्सार बिभागलाई निर्देशन दिनुभएको हो । सवैतिरबाट बिरोध भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीले निर्णय स्थगिन गराउनु भएको हो ।