काठमाडौं, पुस १५ । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलको निर्देशनपछि भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई आज १५ पुसबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ ।
बिदेसमा रहेका प्रवासी नेपालीहरुले सरकारको यो ब्यवस्थाप्रति कडा आलोचना गरेपछि अर्थमन्त्री पौडेलले भन्सार बिभागका महानिर्देशकलाई आजबाट कार्यान्वयनमा आउन लागेको नयाँ ब्यवस्था स्थगित गर्न निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनपछि बिभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई पत्र पठाएर स्थगित गर्न निर्देशन दिएको हो ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको जानकारी दिनुभयो ।

‘हामीलाई हिजो बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएको छ, हामीले प्रज्ञापनपत्र दिएका छैनौं,’ पोखरेलले भन्नुभयो । सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो ।
यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो । सो ब्यवस्थाको बिरोध भएपछि सरकारले स्थगित गरेको हो ।













प्रतिक्रिया दिनुहोस्