जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १४:२९

यी हुन आर्थिक सहयोगदेखि सचिव सरुवासम्मका मन्त्रिपरिषदको ५ निर्णय


काठमाडौं, पुस २२ । सरकारले कम्बोडियामा ज्यान गुमाएका झापाका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । कम्बोडियामा आफू बसेको क्यासिनोमा आगो लागेपछि १२ औं तलाबाट हाम फाल्दा पाण्डेको ज्यान गएको थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पौडेलले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । सन्दीप र चेतनका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने निर्णय गरेको छ । आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै राष्ट्रिय सभा सदस्य उपचुनाव माघ २५ गते गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले जानकारी दिनुभयो । अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसा घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

– कम्बोडियामा ज्यान गुमाएका झापाका नीराकार पाण्डेको शव नेपाल ल्याउन आर्थिक सहयोग गर्ने ।

– प्रतिनिधि सभा र प्रदेश सभा चुनावका बेला ज्यान गुमाएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही १० लाख रुपैयाँ प्रदान गर्ने ।

– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने ।

– राष्ट्रिय सभा सदस्य उपचुनाव माघ २५ गते गर्ने ।

– अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसा घिमिरेलाई जिम्मेवारी दिने ।