जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार २१:०७

भविष्य निर्माण सहकारीले बनायो सदस्यको भविष्य नै अन्धकार


दोलखा, पुस २२। सहकारी सञ्चालकहरुको बदमासीले देशभर नै शेयर सदस्यका पैसा जोखिममा परेका बेला दोलखा जिल्लामा पनि यस्तै घटना देखिएको छ ।

जिल्लाको वैत्यश्वर ५ स्थित मैनापोखरीमा रहेको भविष्य निर्माण महिला बचत तथा ऋण सहकारीमा पनि अध्यक्ष र ब्यवस्थापकको मिलेमतोमा सदस्यका पैसा हिनामिना गरिएको तथ्य बाहिरिएको छ । तथ्य बाहिरिएपछि शेयरसदस्यहरु झस्किएका छन् । सञ्चालक समिति अध्यक्ष प्रतिभा घिमिरे र ब्यवस्थापक उर्मिला बस्नेतको मिलेमतोमा पैसा हिनामिना गरिएको तथ्य बाहिरिएको हो ।

सहकारीले एक जनालाई ५ लाखसम्म ऋण लगानी गर्ने नीति लिएको छ । तर सदस्यहरुलाई थाहै नदिई उनीहरुका नाममा फर्जी ऋण लगानी गरिएको पाइएको हो । हस्ताक्षर र औँठाछापसमेत कीर्ते गरी ऋण लगानी भएको पाइएपछि शेयरसदस्य शान्तिकुमारी बस्नेत छक्क पर्नुभयो ।

आफूले थाहै नपाई आफ्नो नाममा ऋण लगानी भएको पाएपछि उहाँ झस्कनुभयो । थाहै नपाई उनको नाममा १ लाख ऋण देखिएपछि उहाँ अचम्मित हुनुभएको हो । उहाँकै बुहारी सरस्वती बस्नेतका नाममा पनि ५० हजार रुपैयाँ लगानी भएको पाइयो । सरस्वतीले यो बिषय उठान गर्दा यही कुरा ढाकछोप गर्न उहाँलाई हाल सञ्चालक समितिमा ल्याइएको छ ।

यस्ता विभिन्न नाममा ऋण लिएर अध्यक्ष घिमिरेले १६ लाखभन्दा माथि रकम चलाउनु भएको छ भने ब्यवस्थापक उर्मिलाले ३६ लाख भन्दा बढी चलाउनु भएको छ । उहाँहरु दुवैजनाले सञ्चालक समितिको बैठकमै यो रकम आफूहरुले चलाएको र छिटै तिर्ने बताउनु भएको छ ।
‘अध्यक्ष घिमिरे काठमाडौं बस्नुहुन्छ र ब्यवस्थापकलाई निर्देशन दिनुहुन्छ । उहाँहरु दुवै मिलेर संस्थालाई खोक्रो बनाइसके’, एक दाहाल थरकी सदस्यले बताउनु भयो ।

यतिबेला संस्थामा पैसा अभाव छ । ५ हजार लिन जाँदा पनि बचतकर्ताहरु रित्तो हात फर्कनुपर्ने अवस्था रहेको र संस्थाको हिसाबकिताब पनि लथालिंग भएको उहाँ बताउनु हुन्छ । ४ करोड पूँजी रहेको यो संस्थामा विना प्रक्रिया यसरी ऋण लगानी भएको हल्ला केही महिना अघिदेखि नै बाहिर आइसकेको थियो ।

यो बिषय बाहिर आइसकेपछि केही पदाधिकारी र सदस्यहरुले बैठकमै विरोध गरे र तत्कालै हिसाब मिलाउन आवाज उठाए तर निर्वाचनको मुखमै यसरी कुरा उठाउने सदस्यहरुलाई सेटिङ मिलाएरै उनीहरुले पाखा लगाएका छन् । भेग भूगोल नमिलाई पालिकाभरीका सबै वडा समेट्ने नीति बनाएर त्यसको विपरीत एउटै टोलका सदस्य मात्रै मिलाएर गुपचुपमै नयाँ कमिटी निर्माण गरेका छन् ।

भित्र आवाज उठाउनेहरु नै बाहिरिएपछि अब आफ्नो रकम सुरक्षाको चिन्ता गर्दै बचतकर्ताहरु अत्तालिएका छन् । मिलाएर ऋण खानका लागि कार्यक्षेत्रभन्दा बाहिरका ब्यक्तिलाई सदस्य बनाएर लगानी गरिएको छ । धितोकर्ताको मञ्जुरीनामा बेगरमा पनि धेरैजसो ऋण लगानी गरिएको पाइएको छ ।

प्रतिभा अध्यक्षमा निर्वाचित भैसकेपछि ३ जना ब्यवस्थापकहरु धमाधम परिवर्तन हुनुभएको छ । जसमध्ये गोमा बस्नेत, रिजु बस्नेत र अर्की एकजना हुनुहुन्छ । उहाँहरु अध्यक्षले दिएका निर्देशन नमानेबापत निकालिएका थिए तर हालकी ब्यवस्थापक आएपछि दुवैजनाको मिलेमतोमा यस्ता गतिविधि गरिएको र संस्थामा अहिले हिसाब पनि देखाउन नसकिने अवस्थामा रहेकी एक कर्मचारी बताउँछिन् ।

लेखापरीक्षक पनि दुइपटक परिवर्तन गरिए । बिल भरपाइ अनुसारको हिसाब खर्च नमिलेको र आन्तरिक लेखापरीक्षण गर्न सुझाव दिएकाले अडिट रिपोर्टमा अन्य कसैले हस्ताक्षर गरेका छैनन् । संस्थाको विनियममा बचत र शेयर रकम गरी १ लाख भएकालाई ५ लाखसम्म ऋण दिने भनिएको छ तर १०⁄१५हजार रुपैँया मात्र बचत भएकालाई पनि मनलागी ढंगले ऋण लगानी गरिएको छ।

यो बिषयमा संस्थाकी सचिव ज्योती केसीलाई सोध्दा उहाँले आफूले पनि संस्थामा भ्रष्टाचार भएको सुनेर एक बर्ष अघि नै राजीनामा दिएको र राजीनामा स्वीकृत नभएर यत्तिकै पदमा बसीरहेको तर अध्यक्ष लगायतले संस्थाका खास कुरामा सहमति र सल्लाह नगर्ने गरेको बताउनु भयो । उहाँले संस्थामा केही ब्यक्तिले बेथिति भित्र्याएकोले आफूहरु शेयरसदस्यका पक्षमा कडा ढंगले उभिने बताउन भयो । यदि सदस्यहरु कानूनी लडाई लड्न अघि बढेमा आफूले पनि साथ दिने जानकारी दिनुभयो ।

यिनै बिषयमा संस्थाकी अध्यक्ष प्रतिभा घिमिरेलाई सोध्दा उनले बाहिर हल्ला आएजस्तो केहीपनि नभएको र आफूहरु साधारणसभाको तयारीमा लागेकाले सभापछि नै सबैकुरा सञ्चारमाध्यमलाई प्रष्ट पार्ने प्रतिक्रिया दिनुभयो ।

हाम्रो समाजमा महिलाले गरेका कार्यहरु पारदर्शी र कम भ्रष्ट हुन्छन् भन्ने बुझाइ पनि यस्ता घटनाले मिथ्था साबित गरेका छन् । यस्ता गतिविधिले महिलाले सामान्य काम गरेर आर्जन गरेका दुखका पैसा समेत सुरक्षित नहुने देखिएका छन् ।