काठमाडौं, माघ १ । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यति एअरलाइन्सको जहाज दुर्घटनालगत्तै आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भन्नुभयो ।
७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहनुभएको छ । सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका सरकारका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यसैगरी बैठकले विमान दुर्घटनाको शोकमा भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ ।













प्रतिक्रिया दिनुहोस्