जनता टाइम्स

११ माघ २०७९, बुधबार १७:३९

प्रेम आचार्यको देहत्यागसँगै जन्मेका केही प्रश्नहरू


समस्या जहाँ छ, समाधान त्यहिँबाट आरम्भ गरौँ ! अब अहिले एकातिर दिवंगत प्रेमले अन्तिम लेखनमा भनेझैँ राज्यव्यवस्थासँग अन्तरनिहित समस्या छ भने अर्कोतिर निजको सेखपछि रहेका परिवारजनमा समस्याको अजंग पहाड उभिएको छ । थोपा–थोपामिलेर सागर बन्ने हो । सागर बन्ने कर्ममा परस्पर हातेमाले गर्दै मिलेर समस्याको समाधान गरौँ !

युवराज बास्कोटा ‘यज्ञ’

विद्युतीय सञ्चारमाध्यमले एकस्वरमा कुरा ल्याइरहेको छ– इलामका युवा उद्यमी प्रेम आचार्यले हिजो अपरान्ह राजधानीको बानेश्वरमा देहत्यागको प्रयास स्वरुप आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । सल्कनासाथ उहाँको शरीरमा दनदनी आगो लागेको देखियो । आगोले भयावह आकार लिएसँगै निकै ठूलो पराकम्पन सिर्जना उहाँको चित्कार पनि सुनियो । आगोको रापतापलाई तत्काल मत्थर गर्ने वैकल्पिक उपाय नहुँदा केहीबेर जलिरहेको आगोलाई धेरैबेरसम्म हेर्न नसकिने कारुणिक दृश्यचित्रले रातभरि सुत्नदिएन, घरिघरि झल्यास्स झल्यास्स आँखाअघि आइरह्यो ।

संघीय सरकारको प्रधानमन्त्री सवार भइरहेको समयमा यो परिघटना संयोग थियो कि योजनाबद्ध ? संघीय संसद चलिरहेकै समय यो प्रकारको घटना कसरी घट्न पुग्यो ? स्वविवेकमाथि यो कि दुरुत्साहन? कसैले प्रोत्साहित तुल्यायो कि स्वभाविक ढंगले हुनपुग्यो ? पीडा र निराशाकै अभिव्यक्ति हो त यो आत्महत्या ? यी र यस्ता थुप्रै कोणबाट अध्ययन होला नै ।

तथापि, कल्पना परिकल्पना बाहिरको यो नघट्नु पर्ने घट्ना घट्यो । अत्यन्तै अनुचित् घटना घट्यो । वाञ्छनीय क्रियाकलाप यो होइन । विडम्बना ! भएरै छाड्यो । उपचारको क्रममा उहाँको देहावसान भयो, उहाँले देहत्यागगर्नुभयो । प्रथमतः दिवंगत युवा व्यक्तित्व प्रेम आचार्यप्रति भावपूर्ण शब्द श्रद्धासुमन अर्पण गर्दछु ।

ज्ञानको अज्ञानता

कति निर्मम र कठोर निर्णय उहाँको ! अघि लेखिएका विषयवस्तुलाई सार्वजनिक बहसको विषय बनाउन सक्नुभएन, स्वयंमा सम्हालिन सक्नुभएन । वस्तुतः यसबाट आममानिसको मन एकाएक गह्रुंगो भएको छ भने राज्यले लज्जाबोध गरेको छ । राज्यसामु गम्भीर प्रश्न खडा भएको छ । मलाई लाग्छ– राज्यले यो दृश्यचित्रलाई नजिकैबाट ग्रहण गर्नेछ, पढ्ने छ र युवालक्षित नीति कार्यक्रममार्फत युवाज्ञान र पहिचानको व्यवस्थापन सँगसँगै स्वेदेशी पूंजी र प्रविधि परिचालनको प्रक्रियाबाट राष्ट्रिय पूंजीवृद्धिमा राज्य लाग्नेछ ।

दिवंगत प्रेमले रच्नुभएको यो डरलाग्दो र अत्यन्तै अप्रिय घटना परिघटनाले नेपाली समाज एकखालको बहस, विमर्शमा ओर्लिएको छ । मृत्युको बाटो रोज्नुपूर्व प्रेमले नै उल्लेख गर्नुभएका विषयवस्तुलाई ओल्टोकोल्टो पार्दै मुख्यतः तीनथरिका कुरा सतहमा आएका छन– १) युवा उद्यमी प्रेमको आत्महत्याको प्रयास प्रतिनिधि पात्र र घटना मात्र हो, २) राज्य र राज्य प्रणाली पूर्णतः दोषी छ र ३) देशमा युवालक्षित कार्यक्रम केही पनि छैन । फलस्वरुप विकल्प अभावमा आत्महत्याको बाटो समाउने अवस्था छ ।

यो सतही आँकलन, विवेचना र विमर्श मात्रहो । यो घटनालाई प्रतिनिधिपात्रको प्रतिनिधि घटना हो भन्ने हो भने यो त समकालीनमाझ अर्को कसैलाई उक्साए जस्तो अर्थात् प्रोत्साहित तुल्याए जस्तो भएन र ? राज्य र राज्य प्रणाली पूर्णतः दोषी छ भन्ने हो भने पनि यसलाई सच्च्याउन सकिन्न र ?हामी सबै निरिह हौँ त ? सच्च्याउने, सुधार्ने कोर्स आरम्भ गर्न सकिन्न र ? सच्च्याउने, सुधार्ने दायित्व हाम्रो होइन र ? अयोग्य नीतिनिर्माता त्यो ठाउँमा छ भने हामी योग्यले त्यसलाई प्रतिस्थापन गर्नुपर्दैैन र ? देशमा युवालक्षित कार्यक्रम छैन भन्ने हो भने यो देश बालबालिका र बृद्धबृद्धास्थल मात्र बनेको हो र ? कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी हामी तमाम युवाको होइन र ? कार्यान्वयनमा हुर्किएको विकृति र बेथीति भए खबरदारी गर्ने काम पनि हाम्रो होइन र ?

अतिरञ्जना होइन

विगत केही समययता यो देशलाई सक्ने खेलभित्र कमजोर पार्न र बद्नाम तुल्याउन तमाम शक्तिहरू लागेका छन, डेराडण्डा जमाएर बसेका छन । देखिएको छ– कतिपय घटनाक्रमलाई अतिरञ्जनामा ल्याएर राजनीतिक अकर्मयता र अस्थिरताको बीउ रोप्ने कामगर्दै आएका छन् । हामीले पनि त्यहिँ बोलिमा लोलि मिलायौं भने रहँदैन देश, रहँदैनौं हामी भन्ने निष्कर्ष निकाल्न ढिला गर्नुहुँदैन । परस्पर भड्काव अभिव्यक्ति होइन, विवेक र संयम राख्न जरुरी छ ।

एउटा गम्भीर घटनाका सन्दर्भमा राज्य नै नभएको अनुभूति दिने तहको बहस–विमर्शमा ओर्लदा हामी स्वयं कति जिम्मेवारपूर्वक र जिम्मेवारीबोधका साथ संलग्न भइरहेका छौँ भनेर घोत्लन जरुरी हुन्छ । यसरी नै छरपस्ट बहसमा ओर्लियौं र निष्कर्ष निकाल्यौं भने हामी कहाँ पुग्छौँ ? कसैकसैले उहिले १९९८ लाग्दै अरुण नदीमा हामफालेर मृत्युवरण गर्नुहुने योगमाया न्यौपानेसहित ६७ को तुलना पनि यो घटनासँग गरेका छन् । समय, परिस्थिति, बजार र वस्तुगत आवश्यकता आदिका दृष्टिकोणले पनि बानेश्वर घटनाको तुलना अरुण नदीसँग किमार्थ हुन सक्दैन ।

दिवंगत प्रेमजीले आफ्नो सक्रिय जीवनकालमा कठोर संघर्ष गर्नुभएको, उद्यमशील नागरिकको रूपमा उभिएर जीवन निर्वाहको दैनन्दिनको गति र कर्मसँगै सुन्दर सपना बुन्नुभएको र सुनौला योजनाका चाङहरू लिएर कार्यान्वयनमा लाग्नुभएको उहाँको अन्तिम लेखनबाट थाहा हुन्छ । उहाँको यो लेखन मसिनो पढ्दा गुन्दा यहाँ सोसियो–इकोनमिक्सको राम्रो ज्ञाता हो किभन्ने आभास पर्छ र बढ्छ पनि । तर पनि आत्महत्याको बाटो किन रोज्नुभयो त ? गम्भीर र अनुत्तरित प्रश्न मनैमन तैरिन्छ ।

तरंग र यथार्थ

देशबाहिर जीवन खोजिरहेका र बाँचिरहेकाले अलिक बढी हलचल ल्याउन, तरंग पैदा गर्न र अस्थिरता निम्त्याउन खोजेको देखिन्छ । परिणामतः यो एकदमै गलतहुन सक्छ । जसले दैनन्दिन प्रत्यक्ष परोक्ष केही दिन सक्दैन, त्याग र योगदान गर्न सक्दैन, उसैले अलिक बढी उछितो काडेको देखिन्छ ।

हेक्का रहोस्– खाडी मुलुकबाट भित्रिएको रकमजति त नेपालमा आएर काम गर्ने भारतीय कामदारले लिएर फर्कन्छन् । अन्तर्राष्ट्रिय व्यापार घाटामा छ । आयत रोक्न र निर्यात बृद्धिमार्फत यसलाई प्रतिस्थापन गर्न सकिएको छैन । नेपाली श्रमिक युवाजनको अभावमा हाम्रा खेतबारी अनकन्टार र बाँझा भइसके तर तरुल भ्याकुरदेखि लिएर नुन, चिनी, चामल, दाल तेललगायत अति उपयोगी वस्तु भारत र बंगलादेशबाट आइरहेको छ ।

यो हामी रोकथाम गर्न सक्दैनौँ ? उत्पादन बढेमात्र यो आयतीत वस्तुको रोकथाम हुनसक्छ । उत्पादन बढाउने शक्ति देशबाहिर छ । ज्ञान, सीप र सिर्जना जिन्दगीको मौजमस्तीसँग साटेर बनेको छ । बुढेशकालको कष्टकर दिन काटेकाबुबा–आमालाई ढाडसबाहेक केहीदिन सकेको छैन । तिनको स्याहार सम्भार त के– मुखाग्निदिन समेत आइपुग्दैन । कर्तव्य बाहिरको जीवन बाँचेसँगै देश सकियो भनेर सत्तोश्राप र गाली गलौच मात्र गर्छ ।

समस्या र समाधान
अहिले देहत्याग गर्ने महानहुन् भनेर देवत्वकरण गर्दा वा देहत्याग कायरता हो भनेर दानवीकरण गर्दा समस्या झेलेर बसेका र बाँचेका मानिसमा आघात पुग्ने कुराको उत्तिकै हेक्का हुन जरुरी छ । कहीँ न कहीँ, कसै न कसैसँग ठगिएको छ, हेपिएको छ, पिल्सिएको छ । हो, यहाँनेर राज्यको पहुँच वृद्धि गर्नु आवश्यक देखियो । एउटा नागरिकले निर्धक्कसँग सडकमा आएर आगो झोस्नुको सट्टा मेरो सरकार छ, यसले मेरो सोधीखोजि गर्छ र जस्तोसुकै बेलामा पनि मलाई एक्लो र असहाय हुनदिँदैन भन्ने कुराको अनुभूति दिन राज्य उभिनुको खाँचो देखियो ।

यतिबेला यथास्थितिबाट उठ्ने कुराको हकमा विकल्प चाहर्नु मात्र राम्रो हुन्छ । फगत मथिङ्गल गर्ने कुराले परिस्थितिलाई सहज भन्दा पनि असहज बनाउनेतिर केन्द्रीत गर्छ । कसैको मनोबल कुनै कारणले उक्सने वा खस्कने व्यवहार र वाणीहरू नै यस बेलामा दोषि हुनेछन र आलोच्यपूर्ण छन । समस्या नभएको होइन, समस्या छ । राज्यका विभिन्न तहमा समस्या छ । समस्या विद्यमान नवउदारवादी अर्थतन्त्रमा आधारित दलाल पूंजीवादमा छ । हाम्रो बुझाइमा समस्या छ । समस्या समस्याको व्यवस्थापन गर्ने परिपाटीमा छ । समस्या जहाँजहाँ जेजस्तो अवस्था भएपनि समस्याको उचित समाधान आत्महत्या होइन ।

समस्या जहाँ छ, समाधान त्यहिँबाट आरम्भ गरौँ ! अब अहिले एकातिर दिवंगत प्रेमले अन्तिम लेखनमा भनेझैँ राज्यव्यवस्थासँग अन्तरनिहित समस्या छ भने अर्कोतिर निजको सेखपछि रहेका परिवारजनमा समस्याको अजंग पहाड उभिएको छ । थोपा–थोपामिलेर सागर बन्ने हो । सागर बन्ने कर्ममा परस्पर हातेमाले गर्दै मिलेर समस्याको समाधान गरौँ ! कुनै न कुनै ढंगले कसैलाई पनि दुरुत्साहन र नराम्रो कर्मप्रति प्रोत्साहन तुल्याउने कामन गरौँ ! उहाँको भौतिक उपस्थितिको अभावमा त्यो अन्तिम पत्रलाई राज्यनिर्माण र सञ्चालनका लागि गम्भीर ध्यानाकर्षणपत्र भनेर बुझियो भने सार्थक पहल रहेको कुरालाई इतिहासले चिन्तनमनन र ग्रहण गर्नेछ । दिवंगत प्रेमका पीडामिश्रित आरोपहरू राज्यको गम्भीर ध्यानाकर्षणको विषय बनोस् ! यसमा हामी सबै सहभागी बनौँ ! भावपूर्ण श्रद्धासुमन !