२०६२/ २०६३ पछि गिरिजाप्रसाद सुवाससँग ढुक्क थिए र उनका हर कुरामा विश्वास गर्थे रे । गिरिजाप्रसाद यसो भन्थे रे : ‘सुवास भएपछि संविधान सभा चल्छ । सभाध्यक्षको कारण हाम्रो टाउको दुखाई हुन्न ।’ सबैलाई मिलाएर लान सक्ने खुविको कारण सुवासले कोइरालाको विश्वास जित्न सकेको बुझिन्छ
सञ्जीव कार्की
आगामी पाँच वर्षको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा नेपाली राजनीतिका दुई पूर्व परिचित खेलाडीहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ मैदानमा हुनहुन्छ । उहाँहरू दुवैका आआफ्ना विशेषता छन् । खुवी छन् र छन् कमजोरी पनि । सीमा र आयामहरू छन् । राजनीतिक पृष्ठाधारहरू छन् । योग्यता र योग्यताका फेहरिस्त छन् । कसको हुँदैन र ? नेपाली राजनीति आजको स्थितिमा आइपुग्नुमा यसको सकारात्मक र नकारात्मक दुवै कोणबाट पौडेल र नेम्वाङले भूमिका खेल्नु भएको छ ।
बहुदलीय व्यवस्था स्थापनादेखि गणतन्त्र प्राप्तिको आन्दोलनमा यी दुईको योगदान विशिष्ट छ । वाम पृष्ठभूमिका सुवास नेम्वाङ र डेमोक्रेटिक धारका पौडेल दुवै जना सभामुख भइसकेका व्यक्ति हुन् । पौडेल उपप्रधानमन्त्री बन्दै प्रधानमन्त्रीको दौडमा १७ पटक भिडेका नेपाली राजनीतिका चर्चित पात्र हुन् । नेम्वाङ राज्यमन्त्रीसहित सभामुख र संविधान सभाध्यक्ष भइसकेका पात्र हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी सहित संसदमा प्रतिनिधित्व गर्ने आठ दलको साझा उमेद्वार बनेका रामचन्द्र पौडेल र नेकपा एमालेको समर्थनमा मैदानमा एक्लै उत्रिएका सुवासचन्द्र नेम्वाङ् राजनीतिका दुई महारथीहरू बारे तुलनात्मक अध्ययन आजको विषय रहेको छ । उमेर र राजनीतिक जेष्ठतम योग्यता रामचन्द्र पौडेलको छ भने कानुनी पृष्ठभूमि र राजनीतिमा पनि निरन्तर सक्रियता सुवास नेम्वाङ्को देखिएको हुँदा कम उमेरको भएकै कारण कम योग्यता भन्न सकिन्न ।
सुवासचन्द्र नेम्वाङ् : २००९ मा इलामको सुन्तलाबारीमा जन्मिएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ्को नाम लिने बित्तिकै एउटा हँसिलो चेहेरा र मृदु बोलीका साथ ‘माननीय सांसदहरू’ भन्दै सलीनातापूर्वक बोलिरहेको एउटा लिम्बु अनुहार र टोनको याद नेपाली राजनीति बुझ्नेहरूको मस्तिष्कमा आउँछ । २०४८ र २०५२ मा राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ् २०५१ को मनमोहन नेतृत्वको मन्त्री मण्डलमा कानुन राज्यमन्त्री, २०५६ मा पहिलोपटक इलामबाट निर्वाचित भएका नेम्वाङ्, २०६४, २०७०, २०७४ र २०७९ मा पनि सङ्घीय सांसद निर्वाचित भएर सक्रिय छन् ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, २०५७ मा सार्वजनिक लेखा समितिको सभापति भएका सुवास ‘राष्ट्रपति निर्वाचित भएमा जनताको राष्ट्रपति अनुभूत हुने ढङ्गले काम गर्ने’ एजेण्डा बोकेर राष्ट्रपति बन्ने दौडमा छन् । २०६५ देखि २०६९ पहिलो, २०७० २०७२ दुवैमा सभामुख र संविधान सभा अध्यक्ष, कानुनको रौँ चिराका ज्ञाता हजारौ विद्यार्थीका गुरु, वरिष्ठ अधिवक्ता, सुवास त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर हुन् ।
अनेरास्ववियुको २०२९ मा अध्यक्ष भएका सुवास प्राध्यापन,वकालत र राजनीतिसँगै लिएर हिँडेका नेता हुन् । नेपाल वार एसोसियसनको महासचिवको पद सम्म्हालिसकेका सुवास २०३३ मा राजकाज मुद्दामा जेल परेका थिए २०६२/ २०६३ पछि गिरिजाप्रसाद सुवाससँग ढुक्क थिए र उनका हर कुरामा विश्वास गर्थे रे । गिरिजाप्रसाद यसो भन्थे रे : ‘सुवास भएपछि संविधान सभा चल्छ । सभाध्यक्षको कारण हाम्रो टाउको दुखाई हुन्न ।’ सबैलाई मिलाएर लान सक्ने खुविको कारण सुवासले कोइरालाको विश्वास जित्न सकेको बुझिन्छ ।
नेम्वाङ्का सवल पक्ष–
कहिल्यै उत्तेजित नहुने, संयमित र सभ्य बोली,कुनै पार्टीको नेता भन्दा पनि संसद्को खास अभिभावक जस्तो व्यवहार, पार्टी भन्दा माथि उठेको छवि कानुनका जानकार,सबैका भरोसाका केन्द्र । तत्कालीन संक्रमणकालीन संसद्को कुशल नेतृत्व गरेका व्यक्ति ।२०७२ को संविधान निर्माण गर्न महत्त्वपूर्ण भूमिकामा रहेका,आफ्नो ल फर्म पायोनियरका साझेदार र त्यहाँ काम गरेका करिब एक दर्जनलाई उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न सफल,नेता कार्यकर्ताका संरक्षक, हत्तपत्त कसैलाई दुखाउन नचाहने नेताको रूपमा नेपाली राजनीतिमा सुवासको आफ्नो पहिचान रहेको छ । भद्र नेताको छविमा सुवास परिचित छन् ।
रामचन्द्र पौडेल : जन्म २००१ तनहुँ रिस्तीमा जन्मिएका ७८ वर्षीय पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेताको रूपमा पार्टी मर्यादाको दोस्रो वरियतामा छन् । पार्टीको वरियतामा पहिलो र सरकार प्रमुख बन्ने रहरमा ब्रेक लागे पनि देशकै फर्स्ट म्यान बन्न पौडेलको रस्साकस्सी छ । बीपीको राजनीतिक स्कुलिंङ्का उत्पादन २०१७ देखि हरेक राजनीतिक सङ्घर्षमा संलग्न र सक्रिय पौडेलले आफू ‘संविधानको संरक्षण गर्न राष्ट्रपति बन्न लागेको’ एजेण्डा प्रस्तुत गर्दै चुनावी दौडमा मत माग्न व्यस्त छन् ।२०२३ मा सरस्वती क्याम्पसमा युनियन सभापति बनेका पौडेल । २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव, २०२७ ,नेविसंघ संस्थापक केन्द्रीय सदस्य समेत थिए ।
२०४० मा कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ बाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल पार्टीको महामन्त्री र उपसभापति भएर सभापतिको लडाईमा देउवासँग पराजित नेता हुन् । २०४८ देखि तनहुँबाट संसदीय जित्दै आएका पौडेल २०७४ निर्वाचनमा भने पराजित बनेर गत मंगसिरमा सम्पन्न सङ्घीय चुनावमा विजयी बनेर संसदमा छन् ।
२०४९ मा स्थानीय विकास मन्त्री, २०५१ देखि २०५५ सम्म सभामुख २०५७ मा उपप्रधानमन्त्री, गृह तथा संचार,२०६३ मा शान्ति तथा पुनर्निर्माण मन्त्री,माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक, २०६५ नेपाली कांग्रेस संसदीय दलको नेताभएको अनुभवसमेत छ । कांग्रेस भित्र थुप्रै अवसर लिएका र अनुभव हाँसिल गरेका राजनीतिज्ञ पौडेल लामो समय जेल बस्ने नेपाली नेताहरू मध्येका एक नेताको हैसियतमा समेत छन् ।
निर्वासन, नजरबन्द र जेल पौडेलका राजनीतिका दिनचर्या थिए । पौडेल १४ वर्ष जेल बसेका छन् । प्रजातन्त्रको लागि दुख गरेका नेताको रूपमा रामचन्द्रको परिचय छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका पौडेल संस्कृतमा शास्त्री हुन् । पूर्वीय दर्शन र संस्कृतिलाई अवलम्बन गर्ने पौडेल स्वच्छतामा विश्वास राख्ने नेताको चिनारी बोकेर बसेका छन् ।
पौडेलका सवल पक्ष
प्रजातान्त्रिक समाजवाद एक अध्ययन, ‘नेपाली कांग्रेस के भन्छ ?’‘नयाँ सन्दर्भमा समाजवाद’ कृतिका कृतिकार पौडेल नेपाल पुकारको सम्पादक भएर पार्टी पत्रकारिता गरेका व्यक्ति समेत हुन । लामो र अथक सक्रियता निष्ठाको राजनीतिमा उदाहरणयोग्य नेता, वैचारिक चिन्तक, विवादमा नपरेका, पटक पटक लाभको पदको उपल्लो स्तरमा रहेर पनि भ्रष्टचारमा नडामिएका,गुट नबनाउने नेता,पार्टी फुट नरुचाएका, सैद्दान्तिक बहसमा पार्टीको आधिकारिक लाइनको वकालतकर्ता आदि पौडेलको नाम अघि पछि जोडिने फूंदा हुन् ।
पार्टी नेताहरूको अन्तरसङ्घर्षमा जहिल्यै सम्बन्धको सेतुको काम गरेको र नेताहरूको मन मुटावमा सम्वाद स्थापित गर्न समन्वयकारी भूमिका निर्वाह गरेको जस यिनले लिने गरेका छन् । पौडेल देउवाका बफादार सिपाही होइनन् समकालीन र प्रतिस्पर्धी हुन । लघुताभाषी, साँघुरो चिन्तनको घेरामा रम्ने, सानो चित्तको, कार्यकर्ताको संरक्षण गर्न नसकेर नगर्ने भएको कारण नै एक्लो पर्ने गरेको,आफ्नो सुरक्षा मात्रै खोज्ने, राजनीतिक दाउपेचमा कमजोर, १४ औ महाधिवेशनमा समुह विहीन भएर मतदान प्रक्रिया नै बहिष्कार गरेर पार्टीमा भएको आन्तरिक लोकतन्त्रको अपमान गरेको जस्ता पौडेलका कमीकमजोरी पनि सतहमा छन् ।
राष्ट्रपतिको चुनावका मतदाता को हुन्छन् ?
नेपालको संविधानको धारा ६२ मा भएको व्यवस्था अनुसार सङ्घीय र प्रदेश सभा सदस्य राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने मतदाता हुन् । हाल प्रतिनिधि सभामा २७३ र राष्ट्रिय सभामा ५९ सांसद गरी ३३२ जना सांसदहरू रहेका छन् । प्रदेश सभा तर्फ ५५० जना सांसदहरू छन्, यी दुवै मिलाएर कुल ८८२ मतदाता राष्ट्रपतिको भाग्य र भविष्य फैसला गर्ने विधाताहरू हुन् । ५१ प्रतिशत मत कटाउने उमेद्वार नेपालको राष्ट्रपति बन्नेछन् ।
अन्त्यमा …
खस आर्य महिला र मधेशीको प्रतिनिधित्व राष्ट्रपतिमा भए पनि आदिवासी जनजाति र दलितको पालो रहेको र त्यसमा अरू कुनै उमेद्वार नभएको कारण समावेशी चरित्रको देश निर्माण गर्न जनजातिको प्रतिनिधित्व सुवास नेम्वाङले मात्र उमेदवार दिएकोले संविधानको मर्म र भावना अनुसार हाम्रो दावी बलियो छ र पुग्छ भन्ने एमालेको तर्क रहेको छ । त्यसैले सुबास नेम्वाङ् विजयी बन्ने विश्वासमा एमालेजन रहेका देखिन्छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी,जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको गठबन्धन रहेको र मतभार पनि ६० प्रतिशत भन्दा माथि भएकोले कांग्रेस उमेद्वार रामचन्द्र पौडेलको जित निश्चित भएको गठबन्धनको दावी छ ।संधै मुद्दाले मात्र जित्दैनन् गणित निर्णायक हुन्छ त्यसैले जितको अंक गणित हामीले सुरक्षित राखेका छौ । हाम्रो उमेद्वार विजयको फैसला सुन्न मात्र बाँकी हो कांग्रेसजन आफ्नो तर्क राख्छन् ।
२०४८ देखि राष्ट्रिय सभा र प्रतिनिधि सभामा लगातार रहेका नेम्वाङ् र २०७४ मा एकपटक पराजित र ६ पटक संसदमा विजयी बनेका पौडेल,दुई घगडान नेताको प्रतिष्पर्धा रोचक देखिए पनि आजसम्म देखिएको संसद्को गणितले रामचन्द्र पौडेललाई राष्ट्रपतिको ताज पहिर्याउने निश्चित छ ।
तथापि अनप्रेडिक्टेवल नेपाली राजनीतिको चरित्र हेर्दा साँझ र विहान, बेलुकी र दिउँसोमा यू टरन लिने राजनीतिमा ठोकुवा गर्नु मूर्खतापूर्ण हुनजान्छ । नेपाली राजनीतिका दुई चन्द्र, रामचन्द्र र सुवासचन्द्रको भाग्य र भविष्यको फैसला फाल्गुन २५ गते हुनेछ । यति चै भन्न सकिन्छ जसले जिते पनि चन्द्रको जित हुनेछ । रास्वपा र राप्रपाले आजसम्म कसलाई समर्थन गर्ने या बहिष्कार गर्ने आफ्नो कित्ता क्लियर गरेका छैनन् । गोप्य मतदान समेत भएको कारण केहीमत यताउता भए पनि पार्टी निर्णय बाहिर गएर खस्ने न्यून मतले परिणाम फेरबदल गर्ने हैसियत राख्दैन ।
राजनीतिक प्रोफाइल रामचन्द्र र सुवासचन्द्रको खासै अन्तरको छैन । उमेरमा भने १० वर्षको फराकिलो अन्तर छ । नेपाली राजनीतिमा अन्य नेताहरूको दाँजोमा सफल र सवल अनि कम विवादित पात्रहरू नेम्वाङ् र पौडेल हुन् भन्दा अतियुक्ति नहोला । यद्दपि खराव मध्ये कम खराव हो । आम रूपमा खराव र असल दुवै दर्जा दिन सकिन्न । यद्दपि भोलि उहाँहरूले तय गर्ने राजनीतिक यात्रा निर्णय र विवेकको आधरमा पुन मुल्याङ्कन गर्ने ठाउँ भने रहन्छ नै ।
(अनुसन्धाता: एम.फिल- पिएच.डी.त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।)
प्रतिक्रिया दिनुहोस्