जनता टाइम्स

१० बैशाख २०८०, आईतवार १८:०५

सवारी दुर्घटनामा घाइते कीर्तिपुरका वडाध्यक्ष अधिकारीको निधन


काठमाडौं, बैशाख १० । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ। सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो।

उहाँलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। ‘हिजोसम्म उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो। तर आज बिहान ३ बजेदेखि एक्कासि प्रेसर बढेको थियो। अहिले चिकित्सकले घोषणा गर्नुभयो,’ उहाँले भन्नुभयो ।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लाग्छ। त्यसदिन व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुग्नुभएको थियो । त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर ४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

मेलामा पुगेका वडाध्यक्ष अधिकारीको खुट्टा एक्कासी बाँउडिएपछि उहाँका साथी मनोज बुढाथोकीले उहाँलाई मोटरसाइकलमा राखेर घर ल्याउन लाग्दा दुर्घटना भएको हो । पुष्पलाल पार्कस्थित ओरालोमा पुग्दा मोटरसाइकलको ब्रेक नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।