जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार १२:५३

उपप्रमुखको उदाहरणीय कार्य, गाडी किन्न दिएको ४० लाख एम्बुलेन्स व्यवस्थापनमा


उदयपुर, भदौ १०

उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गर्नुभएको छ ।

नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो । सो रकम आफ्नो सुविधाका लागि गाडी नकिन्ने बरु कटारी अस्पतालमा एम्बुलेन्सको आवश्यकता रहेकोले जनताको सेवा गर्न एम्बुलेन्स किन्ने प्रस्ताव उपप्रमुख राउतले गर्नुभएको हो ।

तत्कालिन नेकपा एमालेबाट विजयी हुनुभएकी उपप्रमुख राउत भन्नुहुन्छ,“ हामीलाई जनताले जनताको सेवक बन्न पठाएका हुन्,जनताको कर उठाएर गाडी किन्ने र चढ्ने आफूलाई रहर छैन र विनियोजित रकम बिरामीको सेवा गर्न एम्बुलेन्सको व्यवस्था गर्ने प्रस्ताव मैले गरेकी हुँ ।” पुरानो गाडी बिग्रिएपछि एक वर्षदेखि आफू गाडीविहीन नै रहेको भएपनि आफूलाई जनताले नगरको विकास र जनताको सेवा गर्न निर्वाचनमा विजय गराएकाले आफू गाडी नचढ्ने बरु हिँडेर नै कार्यालय र अन्यत्र स्थानमा आवतजावत गर्ने धारणा उपप्रमुख राउतको रहेको छ ।

नगरपालिका बैठकले आफ्नो लागि गाडी किन्न रु ४० लाख व्यवस्था गरेकोमा रु १५ लाखको कटारी अस्पतालमा आवश्यक पर्ने एम्बुलेन्स तत्काल किन्ने प्रस्ताव गरिएको हो । बाँकी रकम कटारी–११ को बेतिनीमा पर्यटन मन्त्रालयले निर्माण शुरु गरेर छाडेको अधुरो पर्यटन भवन निर्माण गर्न खर्च गर्ने आफूले प्रस्ताव नगरपालिकामा राखेको उपप्रमुख राउत बताउनुहुन्छ । उक्त प्रस्ताव नगरपालिकाबाट पारित भएको पनि उपप्रमुख राउतले बताउनुभयो ।

कटारी अस्पताल विकास समितिका अध्यक्ष कृष्णराज दनुवारले उपप्रमुख राउतले आफ्नो सुविधाको गाडी किन्ने रकमले अस्पतालको लागि एम्बुलेन्स व्यवस्थापन गरिदिने प्रस्ताव गर्नुभएकाले अब एम्बुलेन्स खरीदको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उदयपुरका आठ स्थानीय तहमध्ये धेरै नगरपालिका तथा गाउँपालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षका लागि यसअघिनै गाडी खरीद गरी प्रयोग गर्दै आइरहनुभएको छ । कटारीका समाजसेवी मुकेश थापाले सबै जनप्रतिनिधिले रचनात्मक काम गर्न सकेमात्र देश बन्ने धारणा व्यक्त गर्नुभयो ।