जनता टाइम्स

२४ भाद्र २०७६, मंगलवार १६:२७

एनआरएनएमा मनोनयन शुल्क दोब्बर : मध्यम आए हुने अभियन्तालाई नै नेता बन्ने ढोका बन्द


काठमाडौं, भदौ २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा चर्काे शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न अत्यधिक बढी शुल्क तोकिएको हो ।

अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णयसहितको सिफारिसका आधारमा निर्वाचन समितिले नवौं अन्तराष्ट्रिय महाधिवेशनका लागि उम्मेदवार मनोनयन शुल्क निर्धारण गरेको छ । विभिन्न पदहरुका लागि आठौं महाधिवेशनभन्दा दोब्बर बढी शुल्क तोकिएको छ । शुल्क बढी राखेसँगै बिभिन्न देशका एकआरएन अभियन्ताहरुले असन्तुष्टि जनाएका छन ।

निर्वाचन समितिले अध्यक्षका लागि १० लाख नेरु वा १० हजार अमेरिकी डलर शुल्क तोकेको छ । यस्तै उपाध्यक्ष तथा महासचिवका लागि ६ लाख नेरु वा ६ हजार अमेरिकी डलर, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख नेरु वा ५ हजार अमेरिकी डलर र सहकोषाध्यक्षमा उम्मदेवारी दर्ता गर्न ४ लाख नेरु वा ४ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकमा उम्मदेवारी दिन ३ लाख ५० हजार नेरु वा ३५ सय अमेरिकी डलर शुल्क तोकिएको छ ।

निर्वाचन समितिले गरेको निर्णयअनुसार क्षेत्रीय उपसंयोजक र क्षेत्रीय महिला तथा युवा संयोजकका लागि २ लाख ५० हजार नेरु वा २५ सय अमेरिकी डलर शुल्क तोकिएको छ । यस्तै आइसीसी सदस्यमा उम्मदेवार बन्नका लागि १ लाख नेरु वा १ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । निर्वाचन समितिले तय गरेको शुल्कले एनआरएनए धनीहरुको मात्रै संस्था हुने देखिएको भन्दै चिन्ता ब्यक्त हुन थालेको छ । शुल्ककै कारण राम्रो काम गर्ने भएपनि एनआरएनमा उम्मेदवार नै बन्न नसक्ने देखिएको उनीहरुको भनाई छ ।

‘एनआरएनएलाई राम्रो र हाम्रो बनाउँदै बिदेशमा रहेका सवै नेपालीको साझा संस्था बनाउने काममा यो शुल्क बाधक बनेको छ, यति धेरै शुल्क केको लागि भन्ने औचत्य पुष्टि हुनुपर्छ,’ एनआरएनएको आगामी निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएकी अमेरिका निवासी एनआरएनए अभियन्ता रविना थापाले जनताटाइम्ससँग भन्नुभयो । थापाका अनुसार यो शुल्क सरासर बेइमानी हो ।

निर्वाचन समितिले तोकेको शुल्ककै कारण कतिपय उम्मेदवारहरु आफ्नो घोषणाबाट पछि हटने मानसिकता बनाएका छन । मध्यम वर्गका एनआरएनहरुको मुख्य पदमा रहेर काम गर्ने अभिलाषा रहे पनि दर्ता शुल्क चर्को भएका कारण पछि हट्ने मानसिकतामा पुगेका हुन । मुख्य पदहरुमा युरोप र अमेरिकाबाट बढी उम्मेदवार र मध्यपूर्व क्षेत्रबाट कम उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुको मुख्य कारण पनि यही शुल्क रहेको आम एनआरएनए अभियन्ताको बुझाइ छ ।

यसपटक अघिल्लो विश्व सम्मेलनमा भन्दा दोब्बर बढी शुल्क तोकिएपछि उम्मेदवारहरुको खर्च पनि निकै बढ्ने देखिएको छ । आगामी सम्मेलनमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य अध्यक्षको दौडमा हुनुहुन्छ । दुवै जना अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरी बिश्वब्यापी दौडमा हुनुहुन्छ । दुई उम्मेदवारको पछि लागेर बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।

यता चुनाव नजिकिएसँगै एनआरएनएको आर्थिक अवस्था खस्किएको भन्दै अमेरिका र युरोपतिर प्रमुख मुद्दा बन्न थालेको छ । संघमा सन् २०१३ देखि २०१७ को कार्यकालमा १ अर्बभन्दा धेरै स्रोत विकास भएको र ५० करोड भन्दा धेरै रकम खातामा रहेकोमा अहिले खस्किएको हो । सन् २०१७÷२०१९ को कार्यकालमा आउँदा त्यो घटेर ऋणात्मक ब्यालेन्समा गएको भन्दै मुख्य पदका उम्मेदवारहरुले नै सामाजिक सञ्जालमार्फत आलोचना सुरु गरेका छन् ।