जनता टाइम्स

८ आश्विन २०८०, सोमबार १६:३०

एमालेको ध्यान सरकार परिवर्तनभन्दा पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा उभ्याउनुमा छ : महासचिव पोखरेल


काठमाडौँ, ८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको ध्यान सरकार परिवर्तन नभएर बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई सुदृढ गर्नेमा केन्द्रित भएको बताउनु भएको छ।

सोमबार एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेले संकटपूर्ण अवस्थामा देशको नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आवाजहरु सुनिए पनि एमालेको ध्यान सरकार परिवर्तन भन्दा पनि एमालेलाई बलियो शक्ति बनाउनतर्फ केन्द्रित भएको बताउनु भयो।

उहाँले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो संकटबाट मुलुकलाई बाहिर निकाल्न एमालेबाहेक अरू कसैले नसक्ने दाबी गर्नुभयो ।

महासचिव पोखरेलले नेपालमा पटक पटक राजनीतिक परिवर्तन भए पनि आमूल रूपमा सामाजिक परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले नेपालको सामाजिक परिवर्तनको लागि अस्थिर राजनीति बाधक भएको बताउनुभयो।

नेपालमा राजनीतिक स्थिरताको लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको उहाँको भनाइ छ।

नेकपा एमालेलाई जबसम्म बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिँदैन तबसम्म देशको विकास हुँदैन भन्ने कुरा पुष्टि भइसकेको उहाँले बताउनुभयो । ‘नेकपा एमाले सरकारमा नरहँदा आज मुलुक संकट तर्फ उन्मुख छ’, उहाँले भन्नुभयो ।

नेपालको वामपन्थी आन्दोलन अब नेताहरूबाट होइन कार्यकर्ताबाट स्थापित र बलियो बनाउनु पर्ने पोखरेलले बताउनुभयो । नेकपा एमालेको ध्यान अहिले सरकारमा नभएर बलियो राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित भएको पोखरेलले बताउनुभयो ।

अहिले सामाजिक अराजकता फैलाउन अनेक प्रयास भइरहेको पोखरेलेले बताउनभयो । सामाजिक सद्भाव भड्काउन जातीय र धार्मिक विद्वेष फैलाउने प्रयत्न भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अहिलेको गठबन्धन सरकारले देशलाई तहसनहस पारेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा मुलुकलाई सही बाटोमा डोर्‍याउन एमाले सत्तामा पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।