भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गर्नुभएको छ । दुइ दिने भ्रमणमा रूपन्देही आएका उहाँले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गर्नुभएको हो ।
उहाँले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गर्नुभएको छ । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उहाँले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।
कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस क्षेत्रमा राजगारीको अवसर श्रृजना भई सरकार–सरकार तथा ब्यवसायीक प्रतिष्ठान बिच पनि सम्बन्ध बिस्तार भएको गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर थापाले बताउनुभयो । यससँगै राजदूत पार्कले सोही प्राङणमै रहेको बजाज मोटरसाईकलको एसेम्बल प्लाण्ट र २ मेगावाटको सौर्य उर्जाको पनि अवलोकन गर्नुभएको थियो ।
सो पश्चात प्लानट परिसरमा बृक्षारोपण समेत गर्नुभएको छ । राजदूत पार्कले नवलपरासी मै निर्माणाधिन अवस्थामा रहेको लक्ष्मी मोटर कर्पोरेशन प्राली अन्तर्गतको हुण्डाई कार एसेम्बल कारखानाको पनि अवलोकन गर्नुभएको थियो । लक्ष्मी मोटर कर्पोरेशनका कार्यकारी निर्देशक निराकर श्रेष्ठले कोरियाली कार कम्पनी हुण्डाईको बारे जानकारी गराउनुभएको थियो ।
अवलोकनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, पार्ककी श्रीमती, नेपालका लागि गणतन्त्र कोरिया दूतावासका कर्मचारी लगायतको सहभागीता रहेको थियो । यस्तै पहिलो दिन नै राजदुतले नेपाल भारत सिमा नाका बेलहियाको पनि अवलोकन गर्नुभएको छ । परिवारसहित आएका उनले सिमाको अवस्था र पुर्वाधारहरुको अवलोकन गर्नुभयो । रुपन्देही आएको दोस्रो दिन राजदूत पार्कले बुद्ध जन्मस्थल मायादेवी मन्दिर र लुम्बिनीको अवलोकन गरी काठमाण्डौ फर्किनुभएको छ ।
राजदुत पार्कसहित श्रीमती यूनही चोङ, राजदूतावासका काउन्सिलर काङ, आर्थिक तथा विकास बिशेषज्ञ च्याङ हानले लुम्बिनी भ्रमण गर्नुभएको हो । राजदुत पार्कलाई लुम्बिनी विकास कोषका तर्फबाट चन्द्रप्रकाश पाठकले स्वागत गर्दै बिफ्रिङ गर्नुभएको थियो । राजदुत पार्कले मायादेवी मन्दिर, पुष्करणी पोखरी, अशोक पिल्लर सहित कोरियन, थाई, म्यानमार, कम्बोडियन मन्दिरको भ्रमण गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्