जनता टाइम्स

७ पुष २०८०, शनिबार १६:१४

सिंहदरबार घेर्ने काँग्रेस नेता विश्वप्रकाश शर्माको चेतावनी


काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानुनहरु निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताउनुभएको छ ।नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले प्रदेशहरुले आफूहरुलाई अधिकार सम्पन्न बनाउने कानुन माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि ब्यक्त गर्नुभयो ।

प्रदेश सम्मेलनमा जाँदा लुम्बिनी, गण्डकी, मधेश र बागमतीमा समेत एउटै गुनासो सुनेको भन्दै शर्माले प्रदेशले युरेनियम र हिरामोती नमागेको बताउनुभयो ।‘अन्तरिक्ष यान बनाएर ल्याएर हाम्रो हातमा देउ भनेको हो, होइन । अन्तरिक्ष यान मागेको होइन, अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो, कानुन मागेको हो, अधिकार मागेको हो, त्यो दिन सकिन्छ कि सकिँदैन, त्यो दिन नसकिने कारण के छ ?’ शर्माले प्रश्न गर्नुभयो ।

निजामती सेवा, लोकसेवा आयोग, पहरी र केही आर्थिक अधिकारसँग सम्बन्धित कानुन नहुँदा प्रदेशलाई अप्ठेरो परेको भन्दै शर्माले कांग्रेसको महासमिति बैठकसम्म ती कानुन नबने प्रदेशका नेताहरुसँगै आफूहरु पनि सिंहदरबार घेर्न जाने बताउनुभएको हो । ‘आज प्रधनमन्त्रीजीलाई म यहीँबाट, नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदै गर्दा प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी कानुन आएन भने महासमिति बैठकबाट निर्णय गरेर हामी खुद सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसँगै उपस्थित हुनेछौं’, उहाँले भन्नुभयो। कांग्रेसको महासमिति बैठक यही पुसको १६ देखि १९ गतेसम्मका लागि तोकिएको छ ।