काठमाडौँ, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिनु भएको छ । नारायणघाट–बुटवल सडक खण्डमा पदयात्रामा निस्कनुअघि सोमबार बिहान पत्रकार सम्मेलन गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि सुन तस्करी ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको हो ।
अध्यागमन विभागका महानिर्देशक झलकाराम अधिकारीलाई मन्त्रालय तानेर गृहमन्त्री श्रेष्ठले जोगाउन लागिपरेको लामिछानेको भनाइ छ। अधिकारीको अभियुक्त दावा छिरिङसँग बारम्बार म्यासेज आदान–प्रदान भएको प्रमाण लगेर दिँदा पनि कारबाही नभएको लामिछानेले बताउनुभयो।
६१ किलो सुन प्रकरणमा गृहमन्त्रीको सचिवालय र अधिकारीबिच पनि सम्बन्ध रहेको लामिछानेको दाबी छ। ‘जीवन चलाउने भन्ने मानिस को हो भनेर एक पटक सोध्नुहोला। झलकरामजीसँगको उहाँको सम्बन्ध के हो ? गृहमन्त्रीसँगको सम्बन्ध के हो ? गृहमन्त्रीको वरिपरि भएका मानिससँगको सम्बन्ध के हो भनेर सोध्नुहोला। मैले यो भन्नै पर्ने भयो,’ लामिछानेले भन्नुभयो ।
आफूलाई गृहमन्त्री बन्न लागेको हल्ला चलाएपछि गृहमन्त्री श्रेष्ठ आफ्नो विरुद्धमा लागेको लामिछानेको भनाइ थियो । ‘अहिले पनि उहाँहरूलाई के लाग्यो भने, सरकार फेरबदल हुन लागेको छ। योचाहिँ गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि के हो ? यसलाई थुन्नुपर्छ कि के हो ? भन्ने सोच उहाँहरूलाई भएको होला। तपाईंको सरकार तपाईँलाई मुबारक ।’
आफू यो सरकार र गृहमन्त्रीको रेसमा नरहेको पनि उहाँले बताउनुभयो । ‘म त्यो रेसमा पनि छैन। यो गठबन्धनको रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन। गृहमन्त्रीज्यू, तपाईं सम्हाल्नुहोस्,’ उहाँ भन्नुहुन्छ ‘अहिले मात्र होइन बाँचुन्जेल गृहमन्त्री खानुस् । भलै चुनाव लडे पनि जित्नुपरेन। सबैभन्दा बढी मत ल्याएको सांसद म भन्न चाहन्छु–जोगाउनुहोला आफ्ना मानिसलाई।’
राष्ट्रिय परिचयपत्र छपाइ विदेशी कम्पनीलाई दिएकोबारे मन्त्रालयले बनाएको छानबिन समितिमा आफूले बयान दिए पनि त्यसको प्रतिवेदन सार्वजनिक नगरिएको उहाँको भनाइ छ। उनले आफूले गल्ती गरेको भए हतकडी लगाउन गृहमन्त्रीलाई चुनौती दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्