जनता टाइम्स

१४ पुष २०८०, शनिबार १४:२४

नैतिक बल गुमाउँदै गएको सरकारले भौतिक बलको प्रयोग बढायो : शान्ति समाज


काठमाडौं, १४ पुस । मानव अधिकार तथा शान्ति समाजले नैतिक बल गुमाउँदै गएको सरकारले भौतिक बलको प्रयोग बढाएको बताएको छ । आज समाजको महासचिव रेनुका पौडेलले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा लिप्त सरकारले नैतिक बल गुमाउँदै गएको र भौतिक बलको प्रयोग बढाउँदै गएको बताउनुभएको हो । हिजो ललितपुरको बालकुमारीमा ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै भएको विरोध प्रदर्शनमा दुई जना युवाको मृत्यु भएको थियो ।

आज शान्ति समाजले विज्ञप्तिमार्फत मानवीय क्षतिलाई टार्नुपर्नेमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जना युवाको मृत्यु भएको उल्लेख गरेको छ ।

समाजले भनेको छ,‘युवाको पिडा नबुझ्ने सरकारी संयन्त्र र नागरिकको समस्या सम्बोधन नगर्ने सरकारका कारण आम नागरिकमा आक्रोश बढ्दै गइरहेको देखिन्छ । पुस १३ गते बिहानैदेखि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै सो क्षेत्रमा हजारौँ युवाहरूले प्रदर्शन गरिरहेको अशान्त स्थितिमा पार्टीको कार्यक्रममा भाग लिन हिँडेका मन्त्री प्रकाश ज्वाला चढेको गाडी सो क्षेत्रमा प्रवेश गर्नुले स्वयं मन्त्री ज्वाला र सरकारी निकायको समेत कमजोरी देखिन्छ ।’

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पुस ८ गते प्रहरी महानिरीक्षकलाई पत्र लेख्दै प्रहरीको आक्रामक एवं स्वेच्छाचारी शैलीप्रति ध्यानाकर्षण गराउनुभएको थियो ।