जनता टाइम्स

१६ पुष २०८०, सोमबार १८:०८

राजनीतिक दलले जनतालाई निरासा बाँढ्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाँढ्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभयो । नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उहाँले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताउनुभयो ।

‘केही चीज गम्भीर लागेको छ । यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ । इपीएसमा जे–जस्ता गतिविधि भएका छन्,’ प्रधानमन्त्रीले भन्नुभयो,‘गाडी जलाउने गतिविधि छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वभाविक रहेको बताउनुभयो ।

यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उहाँले स्पष्ट गर्नुभयो । ‘त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै त छैन ? भन्ने अहिले मेरो कुनै प्रमाण होइन,’ उहाँले भन्नुभयो । आफूले उक्त घटनालाई गम्भिर रूपमा लिएर उच्चस्तरीय छानविन आयोग बनाइएको बताउनुभयो । ‘मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो ?’ उहाँले प्रश्न गर्नुभयो ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताउनुभयो । जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उहाँको भनाइ थियो । विश्वको उच्चतम राजनीतिक व्यवस्था लोकतान्त्रिक व्यवस्था भएको बताउँदै उहाँले जनताको बीचमा लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

त्यसको जिम्मेवारी लोकतन्त्रका लागि संर्घष गरेका दलहरूकै भएको उहाँको भनाइ थियो । ‘राष्ट्रिय एकता तथा मेलमिलापलाई लोकतान्त्रिक गणतन्त्रको पक्षमा नयाँ संकल्प गर्ने अवसरको रूपमा लिनुपर्दछ,’ प्रधानमन्त्रीले भन्नुभयो । अहिले पनि वीपिले भनेको जस्तै राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो नेपाली राजनीतिमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रिय सहमतिको प्रयासमा लागेको उहाँले बताउनुभयो ।