काठमाडौं, १८ पुस । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा आज भएको भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको बताउँदै सकुशल रिहाइका लागि अपिल गर्नुभएको हो ।
‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुशल रिहाइ हुनुपर्छ,’ उहाँले राजदूतसँग भन्नुभयो । सभामुख घिमिरेले प्रतिनिधि सभामा विपिनको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इजरायलमा शीघ्र शान्तिको पक्षमा रहेको बताउनुभयो ।

हमासले युद्धमा सामेल नभएका इजरायली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि विपिनलाई बन्धक नै बनाएको छ । गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताउनुभयो । उहाँले विपिन व्यक्तिगतरुपमा पनि परिचित रहेको उल्लेख गर्दै उहाँको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिनुभयो ।
राजदूत गोल्डवेरगरले विपिनको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राख्नुभयो । भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रवद्र्धन कार्यक्रम लगायतका विषयमा छलफल भएको थियो ।












प्रतिक्रिया दिनुहोस्