जनता टाइम्स

२७ पुष २०८०, शुक्रबार १८:३६

२००४ साल देखि नै नेपालको परिवर्तनमा महिलाको असाधरण योगदान छ : अध्यक्ष ओली


काठमाडौं, २७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठुलो योगदान गरेका बताउनुभयो ।

‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्’, उहाँले भन्नुभयो । आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले बताउनुभयो । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ ।

ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताउनुभयो । अनेमसंघ गठन हुनु अघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उहाँले स्मरण गर्नुभयो । २००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा पर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

त्यसअघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको ओलीले बताउनुभयो । नेपालको राजनीतिक आन्दोलन जहाँ पुगेको छ, सो आन्दोलनलाई त्यहाँसम्म पुर्‍याउन महिलाको असाधारण योगदान रहेको ओलीले बताउनुभयो ।

नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उहाँले प्रष्ट पार्नुभएको छ । आज हिजोको जस्तो नभएर महिलालाई सचेत गराउने र महिला आन्दोलनलाई संगठित ढङ्गले अगाडि बढाउने संगठित संस्थाको रूपमा अनेमसंघ रहेको ओलीले बताउनुभयो । ‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभाकारी छ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो । कतिपय पुरुषलाई के होला के होला भनेर धर्मर धर्मर भएको बेलमा पनि महिला नेता कार्यकर्तामा स्पष्टता र आत्मविश्वास रहेको आफूले पाएको ओलीले सुनाउनुभयो ।