जनता टाइम्स

९ माघ २०८०, मंगलवार १३:२०

प्रहरीको फरार सूचिमा पञ्चा सिंह ! दोश्रो पटक पक्राउ पूर्जि जारी


सुर्खेत, ९ माघ । अनेरास्ववियुका नेता राजबहादुर मल्ल हत्या अभियोगमा माओवादी नेतृ पञ्चा सिंह प्रहरीको फरार सूचिमा हुनुहुन्छ । उहाँलाई पक्राउ गर्न जिल्ला अदालतले दोश्रो पटक प्रहरीलाई अनुमति दिएको छ ।

मल्लको हत्या २०६५ फागुन २६ गते भएको थियो । मृतकका परिवारजनले त्यतिबेलै नेतृ सिंहलगायत ६ जनाविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिए पनि माओवादी राजनीतिको आडमा उहाँ पक्राउ पर्नु भएको छैन । यसअघि पनि प्रहरीले १३ साउन २०७९ मा अदालतबाट पक्राउ गर्न अनुमति लिएको थियो ।

सुर्खेत प्रहरीकाअनुसार १५ वर्षअघिको उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेका कालीकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंह, सोही ठाउँका ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कसरी भयो घटना ?

कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै आउनुभएको थियो । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम हुनु भएका उहाँ उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झर्नुभएको थियो । मृतकका बुवा नन्दबहादुर मल्ल भन्नुहुन्छ, ‘पढाइमा सानैदेखि तेज थियो । एसएलसीमा त विद्यालय प्रथम नै भयो । त्योभन्दा माथिको पढाइ झन् राम्रो गर्ला भनेर सुर्खेत पठाएका थियौं । पढ्न पठाएको छोराको हत्या गरिदिए ।’

नन्दबहादुरका पाँच सन्तानमध्ये राजबहादुर साहिँला छोरा हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिमा पनि सक्रिय रहनुभएका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव हुनुहुन्थ्यो । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उहाँको विवाद बढेको थियो ।

गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै राजबहादुरले त्यसको विरोध गर्नुभएको बुवा नन्दबहादुर बताउँनुहुन्छ । ‘त्यही विवादले नै मेरो छोराको ज्यान लियो । नत्र बाटोमा हिँड्दै गरेको एउटा केटालाई खुकुरीले हानेर मार्नुपर्ने त्यस्तो के अपराध गरेको थियो र मेरो छोराले ?’ नन्दबहादुर प्रश्न गर्नुहुन्छ ।

राजबहादुरको २०६५ फागुन २६ गते बेलुका बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते हुनुभएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।