काठमाडौं, १७ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देश नबनाउने बताउनुभएको छ । आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार देश विकासको गति रोक्न बनेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले जुन गठबन्धन सरकार छ त्यो गठबन्धन देश बनाउन र विकास गर्नका लागि त बनेकै होइन, त्यो एमालेले देश बनाउँछ भनेर त्यो भत्काउन बनेको हो ।’ एमालेले विकासको काम गरिरहको बेला त्यसलाई रोक्न गठबन्धन बनेको उहाँले बताउनुभयो ।
एमालेले पुल, राजमार्ग, अस्पताल, विद्यालय लगायत अनेक पूर्वाधार निर्माणको काम गरिरहेको बेला त्यसलाई रोक्न गठबन्धन सरकार बनेको ओलीले बताउनुभयो । त्यस्तै कार्यक्रममा उहाँले गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएका भन्दै आलोचना गर्नुभयो । एमालेलाई रोक्न खोज्नु सूर्यलाई रोक्न खोज्नु जस्तै भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेसँग एक्लाएक्ला लड्ने आँट कोहीसँग पनि छैन । एमाले कसैले रोक्दा रोकिने पार्टी होइन, कसैले सिध्याउन खोज्दा सिद्धिने पार्टी पनि होइन ।’
सूर्यमासमेत कहिलेकाहीँ ग्रहण लाग्ने बताउँदै अध्यक्ष ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताउनुभयो । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेको उहाँको भनाइ छ । ग्रहण धेरै समय लाग्न नसक्ने बताउँदै ओलीले एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने प्रष्ट पार्नुभयो । ‘नेकपा एमाले छ, यस देशमा त्यस कारण देश दुर्घटनामा जान पाउँदैन, यहाँ एमाले छ, नेपाली जनतालाई सचेत पार्ने पार्टी छ’, उहाँले भन्नुभयो ।
देशको रक्षा र विकासको लागि नै नेकपा एमाले बनेको उहाँले बताउनुभयो । देशको चौतर्फी विकासको लागि एमालेले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो । त्यसैले २०८४ को निर्वाचनमा एमालेले सबै ठाउँमा जित्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले मुख्य रूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । यस काममा सरकार र बैङ्कहरूले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
कृषि र पशुपालन तथा त्यसको आधुनिकीकरणबाट नै आर्थिक विकास गर्न सकिने भन्दै यसले धेरै देश कृषिमा आधुनिकीकरण गरेर कृषि अर्थतन्त्र मजबुत बनाएको पनि उदाहरण दिनुभयो । आर्थिक क्षेत्रको नयाँ नयाँ पहिचान गर्न पनि त्यतिकै जरुरी रहेको ओलीले बताउनुभयो । कृषि उत्पादनलाई बजारीकरणको लागि विविधीकरण गर्नुपर्ने आवश्यकता ओलीले औँल्याउनुभयो । उत्पादनलाई विविधीकरण गरी विश्व बजारमा बिक्ने उत्पादन तयार गर्नुपर्नेमा उहाँको जोड छ । त्यसो भयो भने ती उत्पादनले बजार पाउने उहाँको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्