जनता टाइम्स

२० माघ २०८०, शनिबार ०८:२६

एमाले संसदीय दलको बैठक बस्दै, अध्यक्ष ओलीले प्रशिक्षण दिने


काठमाडौं, २० माघ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो ।

‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ । बैठक आइतबार पनि बस्नेछ’, गिरीले बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनुहुनेछ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने जानकारी दिनुभयो ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।