उदयपुर, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपालिकास्थित भुट्टारमा आज आयोजित समारोहमा उहाँले प्रशासकीय भवन समुद्घाटन गर्नुभएको हो । उक्त भवन सात करोड ५० लाखको लागतमा निर्माण गरिएको हो ।
सो अवसरमा प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउनुभयो । स्थानीयतहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नु पर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोडसमेत दिनुभयो ।
बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमति मै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उल्लेख गर्नुभयो । मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पार्नुभएको छ ।
‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ’, उहाँले भन्नुभयो,‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सो अवसरमा कान्छा ज्वाइ जीवन आचार्य र छोरी गंगा दाहाललाइ पनि सँगै लग्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्