जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १५:३२

यसरी पक्राउ परे व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना


काठमाडौं, २५ माघ । व्यवसायीलाई फोनमार्फत् धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४२ ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका–१४ घर भई हाल पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् ।

उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताउनुभयो । दुबैलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका–१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत पाँच करोड माग गरेका थिए ।

सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए। उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए । गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए । ‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ थापाले भन्नुभयो ।

थापाका अनुसार पक्राउ परेकामध्ये दर्जी विगत चार वर्ष वैदेशिक रोजगारीका लागि कतार बसेर नेपाल फर्केको एक महिना मात्रै भएको थियो । क्षेत्री भने बेरोजगार भएर बसिरहेका थिए । उनीहरूको कोठाबाट प्रहरीले तीन थान किताब, एक थान नोट बुक, विभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको ८ थान पाना, भारतीय सिम १ थान, एनसेलको ३ थान, प्रिपेड सिम ५ थान बरामद भएको छ ।

यस्तै, खुकुरी एक थान, गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थानलगायत सामग्री बरामद भएको छ। प्रहरी उपरीक्षक थापाका अनुसार लक्ष्मण दर्जीले युट्युबबाट गैरेको सम्बन्धमा भिडिओहरू हेर्ने गरेका थिए । दर्जी गैरेको बारेमा बुझ्न माघ १३ गते सच्चाईमा गएर एक दुई घन्टा बसेर उनको मोबाइल नम्बर लिएर आएका थिए । ’यसपछि १८ गतेबाट फोन तथा म्यासेजबाट धम्की दिई रकम माग गर्न थालेको खुलेको छ,’ थापाले भन्नुभयो ।

दुई दिनअघि धम्की दिएर दर्जी र क्षेत्री दुबै जना माघ २० गते सच्चाई केन्द्रमा गएका थिए । उनीहरूले त्यहाँ घटनाको असरको बारेमा बुझेको थापाले बताउनुभयो । फेरि उनीहरू माघ २३ गते सच्चाई केन्द्रमा पुगेर आधा घन्टा बसेर फर्केका थिए । उनीहरूको साथबाट बरामद सामग्रीबाट विभिन्न कुराहरू खुलेका छन् ।

उनीहरूले ‘ठूलो धन ठूलै लक्ष्य’ नीति अपनाएको देखिन्छ । यो लक्ष्यमा उनीहरूले अपहरण, फिरौती, गोली हान्ने, फिरौती लिएको रकम संरक्षण गर्ने कुरालाई प्राथमिकतामा राखेका थिए । यस्तै, धनी र सम्पन्न व्यक्ति, नेता, व्यापारी, गुन्डा, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया र म्यानपावर माफियाका छोराछोरीलाई टार्गेट बनाउने योजना बनाएका थिए।

क्षेत्री यसअघि २०७९ सालमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पर्वतमा मुद्दा चलेका व्यक्ति हुन् । यस्तै, उनी २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । दुबैलाई लागुऔषध गाँजा, हातहतियार तथा खरखजना र आपराधिक लाभ एक्सटर्सन सम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।