जनता टाइम्स

२७ माघ २०८०, शनिबार १५:११

नेपालको बिकास हिन्द महासागरमा निर्भर : परराष्ट्रमन्त्री साउद


काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताउनुभएको छ । अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन) मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताउनुभयो ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रुपमा सिमित नभइ संसारको सभ्यताको केन्द्र रुपमा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘हिन्द महासागर भू–राजनीतिक, भू–रणनीतिक र भू–आर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ ।’

सम्बोधनका क्रममा मन्त्री साउदले थप्नुभयो,‘यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ । समुद्री आतंकवाद, डकैती, लागूऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवम नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौतीहरू गम्भीर रूपमा खडा हुनु दुःखद छ ।’

हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रुपमा रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालले महासागरको महत्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै उहाँले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिनुभयो ।