जनता टाइम्स

२७ बैशाख २०८१, बिहीबार १४:४८

मधेस प्रदेशमा पनि सरकार उथलपुथलको प्रयास


महोत्तरी, २७ वैशाख । जनता समाजवादी पार्टी नेपाल विभाजनको असर मधेस प्रदेशमा पनि पर्ने देखिएको छ । मधेसका मुख्यमन्त्रीलगायत अधिंकांश सांसद उपेन्द्र यादव नेतृत्वकै जसपामा रहने देखिए पनि माओवादीले समर्थन फिर्ता लिने छलफल थालेपछि संशय उत्पन्न भएको छ ।

जसपा नेपाल विभाजन भएकाले केन्द्रमा पनि उसको शक्ति कमजोर भएको बताउँदै माओवादीले अहिलेको सरकारबाट कतिसम्म रहने निश्चित नभएकाले मधेस सरकारबाट समर्थन फिर्ता लिने भएको छ । यसका लागि माओवादी मधेस प्रदेश छलफलमा रहेको सुइको पाउनासाथ मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

अहिलेको सरकारमा माओवादीका दुई मन्त्री छन् । माओवादी संसदीय दलका नेता भरत साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिए पनि उनले जिम्मेवारी अस्वीकार गर्दै आएका छन् । भरत साहले कांग्रेससंगको गठबन्धन हुँदा पनि सरोजकुमार यादव नेतृत्वको सरकार ढाल्न भारतको सुरसण्डमा कांग्रेस र जनमतलगायतका दलसंग बैठक गरेको कुरा बाहिरीएको थियो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सभामुखसहित नेकपा (एमाले) २४, नेपाली कांग्रेस २२, जसपा एकजुट हुँदा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा(एस) ७, राप्रपा, नाउपा र संघीय समाजवादीका १–१ सांसद छन् । कांग्रेस र जसपा नेपालबाहेकको सरकार बनाउन जनमतले समर्थन दिए पनि अझै २ सांसद अपुग हुन्छन् । जसपाको विभाजनपछि बसेको सो पार्टीको बैठकमा २ सांसद अनुपस्थित थिए ।

अशोक राई नेतृत्वको जसपामा मधेसबाटै निर्वाचित दुई संघीय सांसद रहेका छन् । तर प्रदेश सांसदहरूमा बहुमतले उपेन्द्र यादव नेतृत्वमै रहने बताए पनि अनुसस्थितलगायत केही सांसदले कित्ता क्लिएर गरेका छैनन् । तर, राई नेतृत्वको जसपामा चार सांसद रहेको भित्रभित्रै चर्चा छ ।