जनता टाइम्स

२३ जेष्ठ २०८१, बुधबार ०७:२६

५४३ क्षेत्रकै नतिजा आउँदा भाजपाले पाएन बहुमत, मोदीलाई आइलाग्यो गठबन्धनमा निर्भर हुनुपर्ने बाध्यता


काठमाडौं, जेठ २३ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ ।

बहुमत गुमाएसँगै पछिल्लो दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुभएका मोदीलाई यस पटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूमा निर्भर हुनुपर्ने बाध्यता आइलागेको छ । अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुजस्ता नेताको मन र मतमा निर्भर रहने भएको छ ।

अप्रिल १९ बाट प्रारम्भ भएको भारतको लोकसभा चुनावमा होमिँदै गर्दा मोदीले ‘अबकी बार चार सय पार’ को नारा दिनुभएको थियो । उहाँले भाजपा एक्लैले ३ सय ७० र भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले चार सय सिट पार गर्ने दाबी गर्दै आउनु भएको थियो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको निधनपछि सन् १९८४ मा भएको लोकसभा निर्वाचनमा राजीव गान्धीको नेतृत्वमा कंग्रेसले ४ सय १४ सिट ल्याएको थियो ।

यसपटकको निर्वाचनमा पनि बहुमत ल्याएर लगातार तेस्रो पटक प्रधानमन्त्री बनेर जवाहरलाल नेहरूको रेकर्ड तोड्ने मोदीको दाबी थियो । त्यस्तै चार सय सिट कटाएर गान्धीको रेकर्डलाई बराबरी गर्ने उहँको योजना थियो । तर परिणामले भाजपा र मोदीलाई झडका लागेको छ ।

भारतीय निर्वाचन आयोगको अन्तिम मतपरिणामअनुसार भाजपाले २ सय ४० सिट जितेको छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन सामान्य बहुमत २ सय ७२ चाहिन्छ । भाजपा बहुमतबाट ३२ सिटले पछाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ सिट जितेको छ । त्यसमा आन्ध्रप्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारको नितिश कुमारको जनता दल युनाइटेडले १२ सिट जितेको छ । मोदीलाई प्रधानमन्त्री बन्न नायडु र नितिशको भर छ ।

२००५ देखि नै बिहारका मुख्यमन्त्री रहेका नितिशले अहिलेसम्म ९ पटक सहयोगी परिवर्तन गर्नुभएको छ । यसपालि नितिश वा नायडुलाई सरकारको नेतृत्व दिएर मोदीको भाजपालाई सत्ताबाहिर राख्न कंग्रेसले कसरत सुरु गरिसकेको छ ।

राजनीतिक विश्लेषक राजकुमार सिंह नितिश कुमार र चन्द्रबाबु नायडुजस्ता मित्रको बलमा भाजपालाई सरकार चलाउन चुनौतीपूर्ण हुने बताउँछन । दुवै जनाको भाजपासँग मिलन मनदेखिको छैन । परिस्थितिले मात्रै उनीहरू भाजपानिकट पुगेको बिश्लेषकहरुको भनाई छ । उनका अनुसार नितिश कुमार विपक्षी गठबन्धनमै रहेको भए तथा ममता बनर्जीदेखि सबै दलबीच कसिलो एकता बनेको भए भाजपाको नतिजा योभन्दा पनि खराब आउने स्थिति हुन्थ्यो ।

१ जुनमा मतदान सकिएलगत्तै सार्वजनिक भएका आधा दर्जन ‘एक्जिट’ पोलले भाजपा र एनडीएलाई अघिल्लो चुनावमा जस्तै जितको सम्भावना देखाएका थिए । २०१४ मा भाजपा एक्लैले २ सय ८२ र २०१९ मा ३ सय ३ सिट जितेको थियो । एनडीएले क्रमशः ३ सय ३६ र ३ सय ५२ सिट ल्याएको थियो । एक्जिट पोलहरूले यस पटक एनडीएले ३ सय ५० देखि ४ सयसम्म सिट ल्याएर मोदीले ‘ह्याट्रिक’ गर्ने बताएको थियो । तर फरक नतिजा आएको छ ।

हिन्दु मतदातालाई ध्रुवीकृत गर्न भाजपा सरकारले चुनावको मुखमा अयोध्यामा राम मन्दिरको उदघाटन गरेको थियो । गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिने कानुन ल्याएको थियो । तर, ती सबैले खासै प्रभाव पार्न सकेन । अयोध्या समावेश रहेको फैजावाद लोकसभा क्षेत्रमा नै भाजपाले हारेको छ । सबैभन्दा बढी लोकसभा क्षेत्र रहेको उत्तर प्रदेशमा यसअघिका दुई चुनावमा भाजपाले अधिकतम सिट जितेको थियो । २०१९ मा ८० सिटमा भाजपाले ६४ जितेको थियो । यस पटक भने ३३ सिटमा खुम्चिएको छ ।

अखिलेश यादवको समाजवादी पार्टीले ३७ सिट जितेको छ । त्यस्तै कंग्रेसले ६ सिट जितेको छ । एक्जिट पोलहरूले भाजपालाई करिब ७० सिट दिएका थिए । यसअघि हिन्दीभाषी राज्यहरूमा बलियो रहँदै आएको भाजपालाई त्यही क्षेत्रमा ठूलो नोक्सान पुगेको छ । सबैभन्दा बढी धक्का उत्तर प्रदेशले नै दिएको छ । त्यस्तै बिहारमा पनि भाजपाले अघिल्लो पटकभन्दा ५ सिट गुमाएको छ । बिहारमा अघिल्लो चुनावमा एक सिट जितेको कंग्रेसले ३ सिट जितेको छ । राष्ट्रिय जनता दलले ४ सिट जितेको छ ।

भाजपाले दिएको चार सय पारको नारा नै उसैका लागि प्रत्युत्पादक बनेको देखिन्छ । विशेष गरी उत्तर प्रदेशमा समाजवादी पार्टीले रणनीतिक रूपमा त्यसलाई प्रयोग गर्यो । चार सयभन्दा बढी सिट पाएमा संविधान संशोधन गरेर दलित र पिछडिएका जातिले हाल पाउँदै गएको आरक्षण सुविधा खोसिने भन्दै समाजवादी र कंग्रेसले त्यसलाई भाजपाविरुद्ध रणनीतिक रूपमा प्रचार गरेको थयो । जसले गर्दा उत्तर प्रदेशको ठूलो संख्यामा रहेको दलित र पिछडिएका जातिको प्रमुख हिस्सा इन्डिया गठबन्धनतर्फ आकर्षित भयो । विगतमा मायावतीको बहुजन समाजवादी पार्टीलाई साथ दिएको दलित समुदायले पनि यस पटक समाजवादीको पक्षमा मत दिएको देखिन्छ ।

अघिल्लो पटक भाजपाले ‘क्लिन स्वीप’ गरेको गुजरातको २६ सिटमा यस पटक १ सिट गुमाएको छ । त्यस्तै, हरियाणाको १० मा ५ सिट मात्रै हात पारेको छ । अघिल्लो पटक राजस्थानको २५ मा २४ सिट भाजपाले जितेकामा यस पटक १४ मात्रै प्राप्त गरेको छ । कंग्रेसले ८ सिट ल्याएको छ । हिन्दीभाषी राज्यहरूमा भाजपाले ५५ सिट गुमाएको छ । भाजपाका चर्चित नेताहरू तथा केन्द्रीय मन्त्री स्मृति इरानी, अजय मिश्र टेनी, महेन्द्रनाथ पाण्डे, कौशल किशोरले चुनाव हार्नुपरेको छ । अघिल्लो पटक अमेठीमा स्मृतिले राहुल गान्धीलाई हराएर लोकसभा पुग्नुभएको थियो । यस पटक कंग्रेस उम्मेदवार किशोरी लालबाट हारेकी छन ।

पश्चिम बंगालमा ममता बनर्जीको प्रभाव बढेको छ । त्यहाँ तृणमुल कंग्रेसले २९ सिटमा जित हात पारेको छ । तृणमूलले अघिल्लो पटकभन्दा ७ सिट बढी जितेको हो । त्यस्तै अघिल्लो पटक १८ सिट जितेको भाजपा ६ सिट गुमाउँदै पश्चिम बंगालमा १२ सिटमा चित्त बुझाउनु परेको छ । महाराष्ट्रमा पनि अघिल्लो पटकभन्दा भाजपालाई नोक्सान पुगेको छ । त्यहाँको ४८ सिटमा अघिल्लो पटक २३ सिटमा भाजपाले जितेको थियो । यस पटक ९ सिटमा खुम्चिएको छ ।

महाराष्ट्रमा इन्डिया गठबन्धनले ३० सिटमा जित हात पारेको छ । प्रदेशमा सबैभन्दा बढी कांग्रेसले १३, शिव सेना उद्धव ठाकरेले ९ र एनसीपी शरद पवारले ८ सिटमा जित हात पारेका छन् । मध्यप्रदेश, हिमाचल र उत्तराखण्ड भने भाजपाले सबै सिट जितेको छ । त्यस्तै, ओडिसा र आन्ध्रप्रदेशमा राम्रो सफलता पाएको छ । चुनावको नतिजापछि प्रधानमन्त्री मोदीले दिल्लीस्थित भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै एनडीए गठबन्धनप्रति लगातार तेस्रो पटक विश्वास दिएकामा मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

यता सरकार बनाउने गरी सिट नल्याए पनि विपक्षी गठबन्धन उत्साहित भएको छ । कंग्रेस नेता राहुल गान्धी, समाजवादी पार्टीका अखिलेश यादव र टीएमसीका ममता बनर्जीको प्रभाव चुनावमा देखिएको छ । २०१४ मा ४४ र २०१९ मा ५२ सिटमा खुम्चिएको कंग्रेसलाई राहुलले ९९ सिट दिलाउनु भएको छ । गान्धी आफैंले केरलको वायनाड र उत्तर प्रदेशको रायबरेली दुई स्थानबाट चुनाव जित्नुभएको छ । लगातार गरेको देश दौडाहा र पैदल यात्राहरूले केही हदसम्म परिणाम उहाँको पक्षमा आएको छ ।

विपक्षी गठबन्धनले चुनाव सकिएलगत्तै २ सय ९५ सिट इन्डिया गठबन्धनले ल्याउने दाबी गरेका थिए । तर तृणमुल कंग्रेससहितको विपक्षी खेमाले २ सय ३२ सिट ल्याएको छ । तृणमूलले पश्चिम बंगालमा एक्लै चुनाव लडे पनि इन्डिया गठबन्धनमै रहेको भन्दै आएको छ । चुनावको नतिजा आउँदै गर्दा पत्रकार सम्मेलन गरेर राहुलले देशले मोदी र अमित शाहलाई नचाहेको सन्देश प्राप्त भएको टिप्पणी गर्नुभएको छ ।