काठमाडौं, २५ साउन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनुभएको छ । आज काठमाडौंमा ३०औं विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई थप अधिकार सम्पन्न बनाउन सरकारले काम गर्ने सिंहको भनाई थियो । अहिले २०७२ को संविधानले दिएको अधिकार कटौती गर्ने गलत प्रचार भइरहेको भन्दै त्यस्तो दुष्प्रचारको पछि नलाग्न पनि आग्रह गर्नुभयो । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि २००७ साल, २०४६ साल र २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा भएको आन्दोलनको स्मरण गर्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको २०७२ को संविधानमा रहेको व्यवस्था कार्यान्वयनमा जोड दिनुभयो ।
थप अधिकारको कुरा गर्दा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेतर्फ ध्यान दिन आग्रह गर्दै उहाँले विधि र प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्ने व्यवस्था संविधानले नै सुरक्षित गरेको बताउनुभयो । ‘जनतालाई अधिकार दिलाउन लडेको पार्टी मिलेर सरकार बनेको छ। जनतालाई दिएको अधिकार खोस्ने कसैले सोच्न सक्छरु’, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘संविधानले दिएको अधिकार पनि कटौती गर्न लागेको हो की भन्ने हल्ला चलाइएको छ । गलत भाष्य स्थापित गर्न दुष्प्रचार भइरहेको कुरालाई पनि हामीले ध्यानमा राख्नुपर्छ ।’
२०७२ को संविधानले दिएको अधिकार कार्यान्वयनमा केही कमजोरी भए सुधार गछौं भन्दा के नराम्रो भयो भन्दै उपप्रधानमन्त्री सिंहले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि सरकार अघि बढेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्