जनता टाइम्स

५ आश्विन २०८१, शनिबार १३:२४

अर्थतन्त्रका क्षेत्रमा विगतमा भएका त्रुटी अव दोहोर्याउन सकिन्न : अर्थमन्त्री पौडेल


काठमाडौं, असोज ५ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका क्षेत्रमा विगतमा भएका त्रुटी दोहोर्याउन नसक्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो यस्तो बटमलाइन सुनाउनु भएको हो । सरकार आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने प्रष्ट मान्यताका साथ अघि बढेको भन्दै अव अर्थमन्त्री पौडेलले बिगतमा भएका कुनै पनि त्रुटीलाई दोहोर्याउन नसकिने प्रष्ट पार्नुभयो ।

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने जानकारी दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउनु पर्नेछ, विगतमा कुनै त्रुटी भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्याउन सक्दैनौं ।’

उहाँले नेपालले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नै र दिगो विकासको बाटो आवश्यक रहेको बताउनु भयो । आज संसारले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन गम्भीर चुनौती सामना गरिरहेको भन्दै उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या केवल पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताउनु भयो ।

हिमालयको काखमा रहेको नेपाल जलवायु परिवर्तनका प्रभावका कारण अत्यन्तै जोखिममा परेका मुलुकमध्येको एक रहेको भन्दै अर्थमन्त्री पौडेलले हिमनदी पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको संख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेषगरी कृषि, जलविद्युत र पर्यटनका लागि चुनौती बनेको धारणा राख्नुभयो । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको भन्दै उहाँले सन २०२६ सम्ममा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुने तय भइसकेको जानकारी पनि दिनुभयो ।

नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोत रहेको भन्दै उहाँले जलविद्युत सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताउनु भयो ।
दिगो पर्यटनले प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने मार्ग प्रदान गर्ने भन्दै इको–पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पुर्याउन र भविष्यका पुस्ताहरूको लागि हाम्रो वातावरणलाई संरक्षण गर्न सक्ने पनि उहाँले बताउनु भयो ।