जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १०:४०

भारत–क्यानडा तनाव चर्कियो, दुवै देशले गरे उच्च कुटनीतिक अधिकारीलाई देश निकाला


काठमाडौं, असोज ३० । भारत र क्यानडाबीचको सम्बन्ध निकै खराब मोडमा पुगेको छ । क्यानडामा गत वर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध नै निकै तल्लो स्तरमा पुगेको हो ।

भारतले नयाँदिल्लीमा रहेका ६ क्यानडेली उच्च कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ भने क्यानडाले पनि ६ जना भारतीय कूटनीतिज्ञलाई आफ्नो देश छाडन आदेश दिएको छ । क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक सम्वादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय उच्च आयुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञ संलग्न रहेको आरोप लगाएपछि सम्बन्ध थप जटिल बनेको हो ।

भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपप्रति कडा आपत्ति जनाएको छ । क्यानडाको आरोपबाट आक्रोशित भारतले दिल्लीस्थित क्यानडाका कार्यवाहक उच्चायुक्त स्टिवर्ट रस ह्वीलर, उपउच्चायुक्त प्याट्रिक हेबर्ट, प्रथम सचिव मेरी क्याथरिन जोली र अधिकारीहरू इयान रस डेभिड ट्राइट्स, एडम जेम्स चुइप्का र पाउला अर्जुएलालाई १९ अक्टोबर (शनिबार) राति १२ बजेभित्र भारत छाड्न भनेको छ ।

भारतले क्यानडालाई दिल्लीस्थित आफ्ना कूटनीतिक कर्मचारी फिर्ता लैजान र भिसा सेवा निलम्बन गर्नसमेत आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले सोमबार वक्तव्य नै जारी गरेर क्यानडाको आरोप सिख पृथकतावादीबाट प्रभावित रहेको जनाएको छ । जवाफमा क्यानडाले पनि उच्च आयुक्तसहित ६ भारतीय कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

भारतले भने सुरक्षाको कारण देखाएर आफैंले आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाएको जनाएको छ । ‘हामीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्ने क्यानडा सरकारको प्रतिबद्धतामा विश्वास छैन । त्यसैले भारत सरकारले उच्चायुक्त र अन्य लक्षित कूटनीतिज्ञ र अधिकारीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

क्यानडाको ब्रिटिस कोलम्बियाको सरीस्थित गुरुद्वारानजिकै १८ जुन २०२३ मा गोली हानेर खालिस्तान समर्थक निज्जरको हत्या गरिएको थियो । भारतले निज्जरलाई आतंकवादी सूचीमा राखेको थियो । सिख समुदायका केही समूहले भारतमा छुट्टै देश ‘खालिस्तान’ को माग गर्दै आएका छन ।

क्यानडामा ठूलो संख्यामा सिख समुदायका मानिस छन । ‘खालिस्तान’ का पक्षमा क्यानडामा बेलाबेला प्रदर्शन हुने गरेको छ । त्यस्तो गतिविधि र प्रदर्शनमाथि नियन्त्रण गरिनुपर्ने र त्यसमा संलग्नलाई पक्राउ गरेर आफूलाई बुझाउनुपर्ने माग भारतले क्यानडासमक्ष राख्दै आएको छ । तर क्यानडा सरकारले आफ्नो देशमा अभिव्यक्ति स्वतन्त्रता रहेको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउन मानेको छैन ।

यही विषयमा दुई देशबीच केही वर्षयता कूटनीतिक सम्वाद जारी रहेकै बेला क्यानडामा खालिस्तान समर्थक निज्जरको हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष सेप्टेम्बरमा संसदमा बोल्दै निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनु भएको थियो । भारतले त्यसको प्रमाण मागेको थियो । त्यसपछि दुई देशबीच कूटनीतिक तथा राजनीतिक तहमा तनाव बढेको थियो ।

दुवै देशले एकअर्काका केही कूटनीतिज्ञलाई देश निकाला गरेका थिए । पछिल्लो समय भने दुवैले एकअर्काको उच्चायुक्तलाई नै देश निकाल्न लागेका हुन । दिल्लीस्थित क्यानडेली कार्यवाहक उच्च आयुक्त ह्वीलरले निज्जर हत्या मामिलासँग जोडिएको प्रमाण भारत सरकारले मागेअनुसार उपलब्ध गराइएको बताउनु भएको छ । उहाँले यस मामिलामा आगामी कदम भारतले उठाउनुपर्नेसमेत बताउनु भएको छ ।

विकसित घटनाक्रमबीच क्यानडाका प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलतमार्फत निज्जर हत्या मामिलामा भारत सरकारले सहयोग नगरेको आरोपसमेत लगाउनु भएको छ । निज्जर हत्या घटनाको अनुसन्धानमा नसघाएर भारतले अनुचित बयानबाजी गरेको आरोप पनि उहाँले लगाउनु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन ।

क्यानडाका प्रधानमन्त्री ट्ुरुडोले भारत–क्यानडा सम्बन्ध कसरी सार्वजनिक विवादमा परिणत भयो भन्नेबारे सोमबार दिउँसो टेलिभिजनमा बोल्दै क्यानडामा भइरहेको ‘आपराधिक’ कार्यलाई समर्थन गरेर भारतले ‘आधारभूत त्रुटी’ गरेको बताउनुभएको छ । क्यानडेली प्रहरीले पनि भारत सरकारले क्यानडामा ठूलो संख्यामा हिंसा गराएको आरोप लगाएको छ ।

भारतले भने सबै आरोप अस्वीकार गरेको छ । क्यानडाले आफ्नो दाबीलाई पुष्टि हुने कुनै प्रमाण उपलब्ध नगराएको भारतको भनाइ छ । भारतले आफ्ना उच्चायुक्त बर्माको ३६ वर्षे कूटनीतिक करिअरको बचाउ गर्दै भनेको छ, ‘क्यानडा सरकारले उनीमाथि लगाएको आरोप हास्यास्पद र अपमानजनक छ ।’ यही बिषयलाई लिएर आरोप प्रत्यारोप निकै बढेको छ ।