सल्यान, कात्तिक १२। सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्थानीय १४ वर्षका गोवर्द्धन खडका, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको पुनले जानकारी दिनुभयो । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन। मृतक दुई जनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले घाइते भएका सबैलाई अहिले उपचारको लागि कपुरकोट गाउँपालिकाको अस्पतालमा राखिएको बताउनु भयो। गम्भीर घाइते भएका ४ जनाको नेपालगन्ज अस्पतालमा रिफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्