पोखरा, कात्तिक २० । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई अभियोजन प्रस्तुत गर्न समय लाग्ने भएपछि मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ ।
जोशी असोज ६ देखि र लामिछानेलाई कात्तिक २ गतेदेखि हिरासतमा हुनुहुन्छ । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ गते म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार अदालतमा उपस्थित गराउन लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई पनि म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुनुहुन्छ ।
अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयले बताएको छ ।
पछिल्लोपल्ट कात्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ । लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।
उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ । यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । मंगलबार पनि २५ दिन म्याद थपको माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्