पोखरा, कात्तिक २० । सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रास्वपा सभापति लामिछानेसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको छ। कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी जोशीलाई अभियोजन प्रस्तुत गर्न समय लाग्ने भएपछि आज म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
जोशी असोज ६ देखि र लामिछानेलाई कात्तिक २ गतेदेखि हिरासतमा हुनुहुन्छ । लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ गते म्याद सकिए पनि तिहार बिदा भएकाले अदालतमा उपस्थित गराइएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई पनि म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुनुहुन्छ ।
अनुसन्धान नसकिएकाले अदालतबाट थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिएको छ ।
पछिल्लोपल्ट कात्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ । लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ ।
उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ । यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । आज पनि २५ दिन म्याद थपको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्